अमिताभलाई के भएको हो ? किन अस्पताल दौडाइयो ?

मुम्बइ। बलिउड सुपरस्टार अमिताभ बच्चन विगत ३ दिनदेखि मुम्बइको नानावती अस्पतालमा भर्ना छन् । बताइएअनुसार उनलाई मंगलबार राती ३ बजे नियमित चेकजाँचको लागि भन्दै अस्पतालमा भर्ना गरिएको हो । उनलाई अस्पतालमा अझै १–२ दिन लाग्न सक्ने बताइएको छ । उनलाई आइतबार डिस्चार्ज गरिने सम्भावना भएको भारतीय मिडियाले दावी गरेका छन् ।

अमिताभलाई नानावती अस्पतालमा जहाँ भर्ना गरिएको छ त्यो कुरा र स्थान निकै गोप्य राखिएको छ । यतिसम्म गोप्य कि कुनै बलिउड सेलिब्रेटीलाई समेत बच्चन अस्पतालमा भर्ना भएको पत्तै भएन । कसैलाई पनि त्यहाँ जान दिइएको छैन । यसलाई नियमित चेकजाँच बताईको छ तर नियमित चेकजाँच भए आधारातको ३ बजे अस्पताल किन दौडाइयो भन्ने प्रश्न उठेको छ । नानावती अस्पतालले पनि अहिलेसम्म उनको स्वास्थ्यबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

अमिताभ नियमित जाँचको लागि अस्पताल गइरहन्छन् । सन् २०१२ मा सर्जरीका कारण उनी १२ दिन अस्पतालमा रहेका थिए । अमिताभ बच्चनलाई कलेजोको समस्या छ । सन् १९८२ मा फिल्म ‘कुली’को सुटिङका क्रममा अमिताभ गम्भीर घाइते भएका थिए । त्यतिबेला उनको धेरै रगत बगेको थियो । स्थिति यतो थियो कि डाक्टरहरुले उनलाई ‘क्लिनिकली डेड’ घोषित गरेका थिए । धेरै रगत बगेका कारण उनलाई २०० रक्तदाताको रगत जम्मा गरी ६० बोतल रगत चढाइएको थियो । यसबाट उनको ज्यान त बाँच्यो तर यही क्रममा उनी अर्को गम्भीर रोगको शिकार भए ।

एक अन्तरवार्तामा स्वयं अमिताभले भनेका थिए ‘दुर्घटनापछि मलाई जो रक्तदाताको रगत चढाइएको थियो तीमध्ये एक जनालाई हेपाटाइटिस बी भएको थियो । त्यही रगतको माध्यमबाट यो रोगको संक्रमण मेरो शरीरमा फैलियो । सन् २००० सम्म म ठिक रहें तर त्यसपछि एक सामान्य मेडिकल जाँचमा मेरो कलेजो संक्रमित भएको भेटियो ।’ अहिले अमिताभ केवल २५ प्रतिशत कलेजोको सहाराले जीवित छन् । हेपाटाइटिसको संक्रमणका कारण उनको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ ।