चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा

चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उहाँले भन्नुभयो । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।