सूर्योदय : इलामको सूर्योदय नगरपालिकाका कृषक र व्यवसायीले दुध र दुग्ध पदार्थको विक्री र मुल्य भुक्तानी सहज बनाउन सरकारसंग माग गरेका छन् ।
सूर्योदय नगर उद्योग वाणिज्य संघको संयोजनमा राष्ट्रिय कृषक समूह महासंघ, एलाइन्स फर एग्रो इन्टरप्रेनर्स र हिमालयन चिज उत्पादक संघले सूर्योदय नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
उनीहरुले चिया र दुधको बजारमा आएको उतारचडावले किसान देखि उद्यमी सम्म संकटमा परेको भन्दै समस्या समाधानका लागि नेतृत्व लिन नगरपालिकालाई आग्रह गरे ।
सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने ‘ इलाम कृषि र पशुपालन उद्योगबाटै ख्याती कमाएको जिल्लाहो । तर, जीवनयापनका यिनै आधारहरु संकट ग्रस्त अवस्थामा पुगेका छन् । खच्कदो बजार, रोग र सरकारको वेवास्थाको कारण दुग्ध, अर्थोडक्स चिया देखि अलैची खेतीको पछिल्लो अवस्था विकराल बन्दै गएको छ ।’
कृषकले व्यवसायीकताको लागि शुरु गरेको दुग्ध र दुग्ध जन्य व्यवसाय करिब १ बर्ष देखि बजारमा आएको उतारचडावको कारण अप्ठ्यारोमा परेको उनीहरुले बताएका छन् ।
‘खेतबारी मासेर लगाएको चियाको हरियो पत्तिको मुल्य महिनौ देखि कृषकले पाएका छैनन्, अलैचीको जिल्लाभर ७५ प्रतिशत बगान मासिएको छ । परिणामतः अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ । तीन तहको सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गराउँछौ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई, राष्ट्रिय कृषक समूह महासंघ सूर्योदयका सचिव मदन पौड्याल, एलाइन्स फरएग्रो इन्टरप्रेनर्सका सञ्चालक सुवास चौरासे, हिमालयन चिज उत्पादक संघका सचिव तोयानाथ महतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘विक्रम सम्बत् २०४५ को आसपास देखि इलामबाट दुग्ध संकलन गर्न थालेको दुग्ध विकास आयोजना अहिले सुविधा सम्पन्न भएको छ तर त्यो सरकारको नियन्त्रणमा रहेको निकाय नत दुध खरिद गर्न सक्छ, नत विक्री गर्ने क्षमता राख्छ, नत किसानको दुग्धको रकम भुक्तानी गर्न सक्छ । यो अवस्था कसरी आयो ? यसको सुधारका लागि तीन तहको सरकारले आवश्यक पहल तत्काल थाल्नु जरुरी छ । सूर्योदय नगरपालिकामा मात्रै दैनिक उत्पादन हुने करिब ६० हजार लिटर दुधको विक्री र मुल्य भुक्तानीको व्यवस्था सहज गर्न जोडदार माग गर्दछौ ।’
नीजि क्षेत्र दुग्ध कारोबार गर्न उत्साहित छ तर बजारमा आएको उतारचडावले उद्योगको अवस्था कमजोर बनेको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ ‘सरकारले घिउ विक्री, छुर्पी विक्री र दुग्ध पदार्थ उत्पादन विविधिकरणमा सहयोग गर्नु आवश्यक छ ।’ सूर्योदयमा रहेका ८० वटा नीजि डेरीले उत्पादन गरेको दुग्ध परिकार र दुग्ध सहकारीहरुले संकलन गरेको दुधको व्यवस्थापनमा सरकारले नीतिगत रुपमा सुधार गर्न आवश्यक भएकाले अल्पकालीन र दिर्घकालीन नीति निर्माण गरेर कार्यान्वायन गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा हाल स्टक रहेको ३७ हजार किलो घिउ र ४८ हजार किलो डकच्यू छुर्पी र चिज ९३ हजार किलो (इलाम जिल्ला भरी)विक्रीको लागि सरकारले व्यवस्था गर्नु आवश्यक रहेको उल्लेख छ ।
व्यवसायीले भारतबाट आयात हुने दुग्धपदार्थ भन्दा सस्तोमा हाम्रो दुग्ध उत्पादन गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।
उनीहरुले लम्पि स्किन रोग नियन्त्रणका लागि खोप अभियान शुरु गरेको अवस्थामा त्यसलाई तिव्र गतिमा अघि बढाउन अनुरोध गरेका छन् । विमा कम्पनीहरुले खोप कार्ड विना किसानले गाईको विमा समेत नगर्ने गरेको भन्दै पशु विमा सहज बनाउन आवश्यक समन्वय गर्न माग गरिएको छ ।
नगरलाई खोरेत मुक्त क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न समेत माग गरिएको छ । सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले दुग्ध क्षेत्रको समस्या जटिल बनेको भन्दै तत्काल समस्या समाधानका लागि पहल शुरु गर्ने बताए । उपमेयर दुर्गा कुमार बरालले बजार सहजताका लागि आवश्यक पहल जारी राखेको बताए । उनले भने ‘सरकार देखि निजी क्षेत्रसंग पनि छलफल भइरहेको छ ।’ उनले व्यवसायी, किसान र स्थानीय सरकारको संयुक्त पहलले समस्या समाधानमा बल पुग्ने बताए ।
नागरिक चासो अभियानका सदस्य रमेश राईले विमाको समस्या समाधान स्थानीय सरकारले गर्न सक्ने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे ।