भगवानहरु बिदामा बसेपछि! ज्ञानेन्द्र कुरुम्भङ( पखेरे कान्छा)

ज्ञानेन्द्र कुरुम्भङ( पखेरे कान्छा) दशै नै हो कि यो मेरो दशा……….! यो गितको सार जस्तैः बन्यो पंक्तिकारको दशै। एक आफन्त सडक दुर्घटनामा परेपछि,यसपालिको दशै भयानक दशामा परिणत भयो।कहिले घर कहिले अस्पताल गर्दै दशैको मिति गुज्रियो। पाँच वर्ष पछि आफ्ना,आफन्त र परिवार सँग रमाइलो गर्दै दशै मनाउने, पंक्तिकारको सोचमा यसपटक फेरि तुषारापात लाग्यो।रमाइलो बाताबरणमा रमाउनुको साट्टो, ठिक उल्टो नरमाइलो दृश्य र अनुभती संगाल्दै मोरङ जिल्लाको बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा बित्यो पंक्तिकारको दशै।ती दृश्य र अनुभुतीको बखान गर्दा यस्तो लाग्छ “दुख,कष्ट बुझ्नलाई अस्पताल पुग्नैपर्ने रहेछ” ।” मृत्युलाई नजिकबाट सुम्सुम्याउन लाई एकपटक अस्पतालको शैयामा पल्टिनै पर्नेरहेछ। त्यसपछि पंक्तिकारको मनभित्र यो प्रश्नले डेरा जमायो- ” पैसाको अभावमा बिरामीको उपचारको विकल्प खोज्न सकिएला तर डाक्टरको अभावको विकल्प कसरी खोज्ने? यो प्रश्नको जवाफ् स्वयं डाक्टरहरु सँग पनि छैन होला।चाडपर्वको समयमा डाक्टरहरु को अभाव खड्किदा, डाक्टरहरुको सुखद क्षण बिरामीका लागी निकै दु:खद क्षण बन्न सक्छ।त्यसैले त, भगवानको उपमा पाएका डाक्टरहरुको बारेमा लेख्न हुटहुटी चल्यो।

भगवानहरु बिदामा बसेपछि:-

सामान्यतया: डाक्टरलाई भगवानको दर्जामा राखिन्छ।डाक्टरलाई भगवानको अर्को रुप पनि मानिन्छ। तर तिनै भगवान मानिएकाहरु चाडपर्वको नाममा लामो समयसम्म,बिदामा बसेपछि अस्पतालको अवस्था कस्तो रहला? बिरामीहरु को हालत के होला?यिनै प्रश्नहरुको रोटेपिङमा घुम्दै नोबेल शिक्षण अस्पताल बाटै मैले यो लेख लेखिरहेको छु।असोज १९ गते अर्थात अष्टमिको दिन अकस्मात, मेरो आफन्तको दुर्घटना भयो।हतार-हतार बिराटनगरको नोबेल शिक्षण अस्पताल पुगियो। त्यहाँ पुग्दा, आफन्तको दाहिने खुट्टा भाच्चिएको रहेछ। त्यहाँ कार्यरत नर्स र सहायक डाक्टरहरुले तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताईरहेका थिए तर प्रमुख डाक्टर बिदामा रहेकाले शल्यक्रिया चार/पाँच दिन पर सारियो। बिरामीको सेवा गर्छु भनेर कसम खाएका डाक्टरहरु बिरामीलाई भन्दा चाडपर्वलाई बढी प्राथमिकता दिएको देख्दा अति दु:ख लाग्यो।यहीँ दु:खको बीचमा समयमै उपचारको अभावमा केहि ब्याक्तीले अकालमै ज्यान गुमाएको देख्दा झन् दु:ख लाग्यो।

भगवान मानिएका डाक्टरहरुको अभाव यति मै सिमित थिएन।मेरा एक छिमेकी बाजेको घाँटीमा समस्या भएपछि नोबेल अस्पताल ल्याइयो।तर सम्बन्धित डाक्टर नभएपछि उहाँलाई बिराट नर्सिङ होम पठाइयो।त्यहाँ पनि डाक्टर नभएपछि उहाँलाई फेरि बिबि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरियो। भलै! त्यहाँ राम्रो उपचार पछि उहाँलाई डिस्चार्ज गरिसकिएको छ।दिमागमा दुई किलो आइस राखेर सोचौं त! समयमै उपचार नपाएर ती बाजेलाई केही भईदिएको भए त्यसको जवाफदेहिता को हुन्थ्यो? डाक्टर कि,अस्पताल ? यो एकदमै सोचनिय विषय हो।यसैगरी मेरा एक मित्रको बहिनीलाई प्रसवको पिडाले च्यापेपछी बिबि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगियो। तर त्यहाँ सम्बन्धित डाक्टर नभएपछि नोबेल अस्पताल ल्याइयो। नोबेल अस्पताल सम्म ल्याइपुर्याउदा बिरामीको अवस्था एकदमै नाजुक भई सकेको थियो। तर सफल शल्यक्रिया पछि हाल आमा र बच्चा सकुशल छन।

माथी उल्लेखित उदाहरण एक प्रतिनिधि समस्याहरु मात्रै हुन। देशै भरका अस्पतालहरु मा यस्ता समस्या छन् भन्दा अतियुक्ती नहोला।किनकि यो नेपाल हो,नेपालको स्वास्थ्य क्षेत्रमा समस्यै समस्या छ।त्यसैले दशैको समयमा अर्थात चाडपर्वको समयमा अस्पतालमा डाक्टरहरु को अभाव हुनु कुनै नौलो विषय हैन। तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा डाक्टरहरु कहिले संवेदनशील हुने? बिरामीहरुको पैसा लुट्न पल्केका,सम्बन्धित अस्पताल प्रसाशनहरु कहिले गम्भीर हुने? सेवाको नाममा ब्रम्हलुट मच्चाउन,अस्पताल संचालकहरु ले कहिले छोड्लान? चाडपर्वको समयमा बिरामीलाई अस्पताल लिएर जाने,सचेत नागरिकको मन भित्र यस्तै सवालहरु ले जन्म लिनसक्छ। अस्पताल ब्यापारिक प्रयोजनले हैन,सेवाकर प्रयोजनले संचालन हुनुपर्छ।

अस्पताल नाफा मुलक होइन सेवामुलुक हुनुपर्छ।तबमात्र छिटो,छरितो र शुलभ तवरले बिरामीले सेवा पाउन सक्छन्। अन्त्यमा पंक्तिकारको आशय यति मात्रै हो। डाक्टरी पेशा कुनै ब्यापार नभई, एक सेवाकर पेशा हो।एक बिरामीको जिन्दगी डाक्टरको हातमा हुन्छ।त्यसैले डाक्टरको धर्म निकै माथी हुन्छ।भगवानको उपमा पाएपनी डाक्टर भनेको एक सामान्य मानिस नै हो। उसको पनि आफ्नै जिन्दगी हुन्छ।उसको पनि आफ्नै ब्याक्तिगत स्वतन्त्रता छ।उसले पनि रमाइलो गर्न पाउनुपर्छ।उसले पनि चाडपर्व मनाउनु पाउनुपर्छ। तर चाडपर्वको समयमा अस्पतालमा हुने डाक्टरहरु को अभावको विकल्प खोज्न सके,बिरामीहरु ले समयमै उचित उपचार पाउने थिए कि?