कफीको पकेट क्षेत्रको रुपमा विकास गर्न बिरुवा निशुल्क वितरण

कफीको पकेट क्षेत्रको रुपमा विकास गर्न  बिरुवा निशुल्क वितरण

इलाम : इलाम नगरपालिका वडा नं. ८ का किसानहरुलाई अरेबिका जातको कफीको बिरुवा निशुल्क वितरण गरिएको छ ।   वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र इलामको सहयोगमा वडाका ईच्छुक किसानहरुलाई ३ हजार ५ सय वटा कफी, १ हजार २ सय वटा अमला, ७ सय वटा ईमली, ३ सय वटा तेजपत्ता, २ सय वटा टाँकीको बिरुवा वितरण गरिएको हो । नगरको यस वडालाई कफीको पकेट क्षेत्रको रुपमा विकास गर्दै लैजाने उद्देश्यले वडाबासीहरुलाई बिरुवा उपलब्ध गराईएको वडाध्यक्ष दलमान तामाङले जानकारी दिनु भएको छ । कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी लिम्बु दहाल, वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डम्बर कार्की, पुर्व वडाध्यक्ष होम बस्नेत, वडाका अगुवा कृषक उमेश महत, इलाम नगर कृषि शाखा प्राविधिक उपेन्द्र नेपाल लगायतले कफी खेति बिस्तार, उद्योग स्थापना, संकलन लगायतका विषयहरुमा आआफ्नो धारणा राख्नु भएको थियो ।