इलाम : इलामको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं बार्षिक साधारण सभाका अवसरमा करीव सय जनालाई सम्मान गरेको छ । संस्थाले ५० हजार भन्दा बढि शेयर रकम उपलव्ध गराउने ७७ जना सदस्यहरुलाई सोमबार सम्मान गरेको हो । प्रतिनीधि सभा सदस्य महेश बस्नेत र इलाम नगरपालिका उपप्रमुख विष्णु दाहालले दोसल्ला ओढाएर सदस्यहरुको सम्मान गर्नुभयो । यस्तै संस्थाले कार्यक्रममा असल ऋणी, उत्कृष्ठ व्यवसायि, दैनिक र मासीक रुपमा बचत गर्ने नियमित बचतकर्तालाई समेत सम्मान गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउनु हुने शेयर सदस्यहरु समेत सम्मानित हुनुभएको छ । अपांग ,ज्येष्ठ र एकल महिला शेयर सदस्यहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो । बाल बचतमा उत्कृष्ट बचतकर्ता र एस इ इ परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्तिणर् गर्ने बाल बचतकर्तालाई पनि पुरस्कृत गरिएको थियो ।
सभामा अध्यक्ष देवेन्द्र बरालले बार्षिक प्रतिवेदन प्रस्तु गर्ने क्रममा संस्थाले बार्षिक रुपमा ६ करोढ बढि कारोबार गरेको र तीन करोड बढी कर्जा लगानी गरेको जानकारी दिनुभयो । संस्थाले यसैवर्ष कार्यालय भवन खरीद गरेको हो ।
सभामा सांसद बस्नेतले सहकारीको आन्दोलनलाई अगाढि बढाउन नियमन आवश्यक रहेको बताउनुभयो । एन जी ओ र उद्योग जस्तो गरेर सहकारी नचल्ने उहाँले बताउनुभयो । इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहालले सहकारीले उद्यम व्यवसायमा महिलाहरुलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष देवेन्द्र बरालको अध्यक्षतामा भएको सभामा अनिरुद्र मैनाली, विकास कर्माचार्य, मेनुका शिवाकोटी, सुरेन्द्र चौहान लगायतका वक्ताले सहकारीको अवधारणा बारे प्रकाश पार्नुभयो ।
प्रतिक्रिया