सविता पाण्डे , इलाम , फागुन २१ : जिल्लाकै पुरानो विद्यालय आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको एकै थलोमा पुनर्मिलन हुने भएको छ । इलाम सदरमुकाम स्थित आदर्श माध्यमिक विद्यालयले स्थापना भएको ७६ वर्षपछि आगामी फागुन २६ गते ‘पूर्वविद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम’ आयोजना गर्ने भएको हो । यस विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा ब्यवसायमा आवद्ध पूर्वविद्यार्थीहरुको विवरण सङ्कल थालिएको प्रधानाध्यापक कुमार पौडेलले बताउनु भयो ।
हालसम्म १३ हजार ४५ जना विद्यार्थी आदर्श मावि बाट एसएलसी/एसईई तथा कक्षा १२ उत्तिर्ण भएर गएका प्रधानाध्यापक पौडेलले बताउनु भयो । तिनै विद्यार्थी कुन क्षेत्र र ओहदामा छ्न भनेर अभिलेख तयार गर्न विवरण सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्वविद्यार्थीहरुको सही अभिलेख सार्वजनिक साथै उच्च ओहदामा पुगेर विशेष योगदान गरेका पूर्वविर्थीहरुलाई सम्मान समेत गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द अधिकारीले बताउनु भएको छ ।पुर्व विद्यार्थीको विवरण सङ्कलन गरी अभिलेख वेवसाइटमार्फत समेत सार्वजनिक अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । यस विद्यालयमा अध्य्यन गरेका विद्यार्थी मुलुकको प्रधानमन्त्री, संविधानसभा अध्यक्ष , प्रतिनिधि सभा अध्यक्ष , मन्त्री , सासद साथै विभिन्न पेशा ब्यवसायको उच्च पद सम्म पुगेका छ्न ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसंविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्बाङ, प्रतिनिधि सभा अध्यक्ष कुलबहादुर गुरुङ, लगायतका व्यक्तिले अध्ययन गरेका थिए । नरेन्द्रविक्रम नेम्बाङ, सोमनाथ बाँस्तोला, पुर्व मन्त्री वेनुपराज प्रसाईं, पूर्वराज्यमन्त्री केशव थापा, प्रतिनिधिसभा सदस्य महेश बस्नेत लगायत आदर्श माविको विद्यार्थी हुन ।
आदर्श माध्यमिक विद्यालयको आयोजना पुर्व विद्यार्थी समाजको सहआयोजनामा साथै इलाम नगरपालिका वाड न ७ को सहयोगमा हुन लागेको कार्यक्रमको तयारी तिव्र भइरहेको छ । कार्यक्रममा फोटो प्रदर्शनी, विद्यालय गीत सार्वजनिक, पूर्व विद्यार्थी समाजको सदस्यता वितरण, विद्यालयको मार्गचित्र प्रस्तुति, पूर्वविद्यार्थीको छुट नामावली सङ्कलन, विविध विषयमा छलफल र त विज्ञान समूहका विद्यार्थीहरुबाट नयाँ अभ्यासको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
पूर्व विद्यार्थीहरुलाई एकै थलोमा भेटघाट गराउने, विद्यालयको विद्यालय विकास योजना प्रस्तुत गर्ने, विद्यालयको लागि आर्थिक भौतिक स्रोत जुटाउने, विद्यालयको शैक्षिक गुणस्तर उन्नयनका लागि सुझाव लिने पूर्व विद्यार्थीहरु विद्यालयका गहना हुन भन्ने बोध गराउने जस्ता उदेश्य राखिएको र यसको लागि आवश्यक प्रचारप्रसार तथा तयारीको काम धमाधम भइरहेको सहआयोजक, आदर्श मावि पूर्व विद्यार्थी समाज भेला आयोजक समितिका संयोजक रामकुमार शाहले बताउनु भएको छ ।
वि.स. २००४ साल जेठ १६ गते स्थापना भएकोआदर्श माविले २०५७/ ०५८ देखि कक्षा ११/ १२ को पठनपाठन सुरु गरेको थियो । कक्षा ११ र १२ मा विज्ञान, कानुन, व्यवस्थापन, मानविकी र शिक्षा विषय समूह अन्तरगत विभिन्न विषय अध्यापन भैरहेको छ ।
कक्षा ८ सम्म नेपाली माध्यम (अतिरिक अङ्ग्रेजी विषय) र कक्षा ९ देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन गर्नै आएको छ ।
आदर्श माध्यमिक विद्यालयलाई २०७६ सालमा स्मार्ट स्कूलको रुपमा विकास गरिएको थियो । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमवाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई स्मार्ट स्कुलको रुपमा विकास गरिए संगै यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
प्रतिक्रिया