कोरोना जित्नेको व्यथा

कोरोना जित्नेको व्यथा


दिपेश आचार्य
इलामःकोरोना जितेर बाहिर निस्केकी सूर्योदय नगरपालिका १० कि सिर्जनाले कुराकानीकै सुरुमा सर्त राखिन ‘फोटो खिच्ने र भिडियो बनाउने भए कुरा नगरौ ।’
उनी भन्दै दिईन् ‘कोरोना लागेको भनेपछि समाजको हेर्ने दृष्टि ने फरक हुँदो रहेछ ।’ तीस महिना कुवेतमा घरेलु कामदारको रुपमा काम गरेर फर्केकी उनलाई सूर्योदय नगरपालिकाको क्वारेनटाइनमा बसेको समयमा कोरोना पुष्टि भयो । उनले सुनाईन पुष्टि भएपछि विराटनगर लगियो, कोरोनाले निक्कै सताएको पिढा सुनेकी उनलाई भने कोरानाको प्रभाव महसुस भएन । उनले सुनाईन् ‘अरुले भने जस्तो केहि लक्षण देखिएन, पिढा पनि भएन ।’
कोरानाले पिढा नदिएपनि समाजका मान्छे भने निकै ससंकीत भएको उनको अनुभव छ । ‘मान्छेहरु भने निक्कै डराउँदा रहेछन् ।’ विराटनगरमा परिक्षण पछि घर फर्केकी उनले दाजुको घरमा बाँकी समय क्वारेन्टाइनमा विताईन् । ‘भरखरै बाहिर आएकी छु , बाहिरका मान्छेमा एक प्रकारको त्रास देख्छु ।’ उनले सुनाईन ।
समाजले हेर्ने दृष्टिका कारण रोगीहरुमा थप पिढा थपिएको कोराना जितेर निस्केका हरुको अनुभव छ । सूर्योदय नगरपालिकाका रविनले सुनाए ‘हामी आफै सजग छौ, यती नराम्रो गरी नतर्कीए हुने जस्तो लाग्छ ।’ कतारबाट फिरेका उनलाई पनि कोरोना पुष्टि भएपछि रोगले सताएको अनुभव भने भएन ।
तर विराटनगरको अस्पतालमा भने विरामी भनेपछि परैबाट खाना फाल्ने, पशुजस्तै व्यवहार गर्ने गरेको उनले सुनाए । ‘विभेद र बहिष्कार त कोरोना अस्पतालमा पुग्नासाथ नै सुरुहुँदो रहेछ ।’ उनले भने ‘त्यो विभेद घर सम्म पनि उत्तिकै भोग्नु परेको छ ।’
रोगले नछोएपनि हुँदाखाँदाको रोजगारी गुमाएर आएका उनीहरुमा अबको दिनचर्याको विषयमा चिन्ता छ । उनीहरुले सुनाए ‘सरकारले रोजगारी दिने कुनै संकेत छैन, अहिले नै आफै के गर्ने भन्ने योजना समेत बनाएका छैनौ ।’
विदेशमा काम अनुसारको दाम पाएका उनीहरुलाई यहाँ भने विना उद्यम बस्नुपर्दा निक्कै पिढा भएको छ । सरकारले योजना सहित आफुहरुलाई सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ । स्थानीय तहहरुले रोजगारी गुमाएकाहरुलाई लक्षित गरेर कुनै योजना नबनाएको उनीहरुको आरोप छ । रोङ गाउँपालिकाका अध्यक्ष समसेर राई भने वेरोजगार युवाहरुलाई लक्षित गरेर न्युनतम राजगारीको योजना अघि सारेको बताउँछन् । उनले चालु आर्थीक बर्षका लागि रोजगारी गर्न चाहने युवाका लागि आवेदन खुलाएको जानकारी दिए । अन्य स्थानीय निकायले पनि कृषिलाई प्राथमिकता दिएर रोजगारीको सिर्जना गर्न लागेको बताएका छन् ।