सूर्योदयःइलामको सूर्योदय नगर उद्योग वाणिज्य संघको विहीबार सम्पन्न कार्यसमिति बैठकले हेममाया प्रधान (रामु)को संयोजकत्वमा महिला उद्यमी उपसमितिगठन गरेको छ ।
उप समितिको सदस्यहरुमा बिनिता बस्नेत, छिरिङ डोमा योल्मु, मिना देवि ढकाल र रमिला श्रेष्ठल रहेका छन् । उपसमितिले महिला सदस्य विस्तार र महिलाको व्यवसायीक क्षमता विकासमा काम गर्ने संयोजक प्रधानले बताइन् ।
संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका सूर्योदय नगरपालिका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।
बैठकले संघको फिक्कल र पशुपतिनगरमा रहेको कार्यालयबाट करदाताको सुविधाका लागि सेवा प्रवाह शुरु गर्ने निर्णय गरेको छ ।
बैठकले नगरका छ स्थानमा सूर्योदय नगरपालिकाको संवृद्धि र संस्थागत विकास सम्बन्धी राउण्ड टेवल छलफल आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष प्रमोद राईले बताए । राईका अनुसार जेष्ठ १५ गते नगरको हर्कटे र कन्यामका व्यवसायीसंग छलफल हुने छ । त्यसैगरी जेष्ठ १८ मा अन्तु, जेष्ठ २१ मा पशुपतिनगर, जेष्ठ २४ मा तीनघरे, जेष्ठ २८ मा फिक्कल र जेष्ठ ३० गते नगर भित्रका महिला उद्यमी, व्यवसायीसंग राउण्ड टेवल सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष राईले बताए ।
प्रतिक्रिया