इलाम / नेकपाको भातृसंगनको अबरोधका कारण महेन्द्र रत्न बहुमुखि क्याम्पसको दशवटा महत्वपुर्ण काम प्रभावित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
पुस ९ देखि अनेरास्ववियु र अखिल क्रान्तिकारीले लेखा शाखा, प्रशासन शाखा सहितमा विहीबार सम्म गरेको तालाबन्दीको कारण शुक्रबार सम्पन्न गर्नुपर्ने विएससी हर्टिकल्चरको पुर्नयोग गर्ने, परिक्षा फारम भर्ने लगायतका काम प्रभावित भएको कयाम्पस प्रमुख राम प्रसाद गुरागाईले जानकारी दिए । विद्यार्थीले विहीबार लेखा शाखाको काउन्टर र प्रशासनको ताला खोलिदिएका छन् । क्याम्पसकै सबै शाखा सञ्चालको वातावरण नबनाउँदा विएसी हर्टिकल्चरको प्रथम सेमिस्टरको आवेदन दिने म्याद समेत गुज्रिन लागेको गुरागाईले बताए । विद्यार्थीले कार्यकक्षमा बसेर काम गर्न अवरोध गर्दा पुर्नयोग गर्नुपर्ने र परिक्षा फारम भर्नुपर्ने विद्यार्थीको काम उनले क्याम्पसको पुस्तकालयमा बसेर गरेको जानकारी दिए ।
विद्यार्थी आवेदन लिने समयमा भएको अवरोधको कारण विएसी हर्टिकल्चरको प्रथम सेमिस्टरमा पढ्न चाहने विद्यार्थी समेत भड्कीने उनले बताए । उनले वार्तामा बोलाउँदा समेत विद्यार्थीसंगठन नआएको उनको गुनासो छ ।
अवरोधको कारण माघ ३ सम्म रहेको स्नातकोत्तर प्रथम सेमिस्टरको आवेदन दिने समय पनि प्रभावित भएको छ । उनका अनुसार क्याम्पसमा बनेको संरचनाको भुक्तानी, नयाँ संरचना निर्माण, कर्मचारीको तलब भत्ता भुक्तानी समेत रोकीएको छ । काउन्टर खुलेपनि चेक चल्ने शाखामा ताला लागेकाले काम प्रभावित बनेको उनले बताए ।
सबै संकायको स्नातक तहको भर्ना ठप्प भएको छ भने चारित्रिक प्रमाण पत्र र पुस्तकालय कार्ड बनाउन बाधा पुगेको प्रमुख गुरागाईले बताए । आज (शुक्रबार)सम्म रहेको रजिस्ट्रेसन फारम भने काम समेत प्रभावित भएको उनको भनाई छ ।
सम्पन्न भएका कामको विल भर्पाइ उच्च शिक्षा परियोजना कार्यालयमा बुझाएर बजेट ल्याउन समेत नसकेको उनले बताए । त्रिभुवन विश्व विद्यालय, कृषि मन्त्रालय, लोक सेवा आयोग, कृषि र पशु विज्ञान अध्ययन संस्थान, विश्व विद्यालय अनुदान आयोग र क्याम्पस विच भएका सम्झौतालाई अन्तिम रुप दिन पनि क्याम्सपको पछिल्लो गतिरोधले प्रभाव पारेको प्रमुख गुरागाईले जानकारी दिए । उनका अनुसार माघ १० सम्म रहेको स्नातकोत्तर तह प्रथम बर्षको फारम भर्ने कार्यक्रम समेत प्रभावित भएको छ । प्रमुख गुरागाईले अपिल मार्फत समस्या वार्ताबाट समाधान खोज्न समेत आव्हान गरेका छन् ।
क्याम्पसमा विद्यार्थी भन्दा ‘अरु’को चलखेल
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम गुरागाईलाई बुधबार विद्यार्थी समूहले माला र अविर लगायो । यस अघि पटक पटक विद्यार्थी र क्याम्पस सञ्चालक समितिको कार्यकक्षमै थुना र केरकार पार गरिसकेका क्याम्पस प्रमुख गुरागाई भन्दैथिए ‘खै, के हो मैले नै बुझेको छैन ।’
आफ्ना प्रस्ताव नमानेपछि पदवाट राजीनाम गर्न नेपाल कम्युनिष्ट पार्टीले गरेको प्रस्ताव अस्विकार गरेपछि पार्टी सदस्यबाट निलम्बन गरीएका क्याम्पस प्रमुखले लामो समय आफ्नो माग नसुनेको भन्दै नेकपाको भातृ संगठनले मंसिर २ देखि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । विद्यार्थीले क्यापस प्रमुखसंग शैक्षिक अवस्थाको सुधारका लागि १८ बुंदे माग राखेको अनेरास्ववियुका इलाम जिल्ला अध्यक्ष प्रवेश पराजुलीले बताए । नेकपाकै भागमा परेको भनिएको क्याम्पसका प्रमुखले आफ्नो माग नसुने पछि अनेरास्ववियुले प्रमुखको राजिनामा माग गर्दै प्रशासन र लेखा शाखा समेत बन्द गराएका थिए ।
क्याम्पस प्रमुख गुरागाई क्याम्पसमा द्धन्द बढेसंगै नयाँ विद्यार्थी भर्नाको समयमा विद्यार्थी भड्कीने पिरलोमा छन् । उनले भने ‘अवस्था यस्तो छ, सबैकुरा प्रभावित हुने भयो ।’ उनले कतिपय भौतिक पसर्वाधार निर्माणको काम समेत प्रभावित भएको बताए ।
नेपाल विद्यार्थीसंघले भने नेकपाको दुई गुटको तानातानको कारण जिल्लाकै जेठो क्याम्पसको शैक्षिक वातावरण तहसनहस भएको भन्दै समस्या समाधानका लागि माग गरेको छ । नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष प्रकाश भट्टराईले बन्दका कारण नया रजिष्ट्रेसनको फर्म भने विद्यार्थी प्रभावित भएको बताए । उनले भने यो विवाद क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कँुवर विचको हो, हामीले समस्या समाधान गर्न नसके राजिनाम दिनुपर्छ ।’
नेकपा निकट विद्यार्थी संगठनले केहिदिन अघि विज्ञप्ति निकालेर क्याम्पस प्रमुखलाई विदाई गरेको थियो । मंगलबार सोहि संगठनले क्याम्पसमा आएका प्रमुखलाई माला र अविर लगाएको थियो । अनेरास्ववियुले क्याम्पस प्रमुखलाई काम नगर्न चेतावनी समेत दिएको छ । क्याम्पस प्रमुख गुरागाईले चार बर्षका लागि नियुक्ति भएकाले अवधी पुराभएपछि आफै जाने बताए । उनले भने ‘दवावका भरमा विचमै छोड्ने कुरै आउँदैन ।
उनले विद्यार्थीका माग भन्दा पनि पछाडीको शक्तिको कारण क्याम्पसको शैक्षिक वाताबरण विग्रिएको बताए । उनले भने ‘विद्यार्थी भन्दा पनि अरु कुराको ठुलो भुमिका देखिन्छ ।’ उनले ‘अरु’बारे भने खुलाउन चाहेनन् ।
यसअघि नेकपा इलामका कार्यालय सचिव नवराज शंकरले विज्ञप्ति निकालेर क्याम्पस प्रमुख गुरागाईले पार्टीहित विपरीत काम गरेकाले निलम्बन गरेको जनाएका थिए । नेकपा विद्यार्थी प्रयोग गरेरै क्याम्पस प्रमुख हटाउने मुडमा रहेको एक प्राध्यापकले बताए ।
कर्मचारी नियुक्ति, जग्गा खरिद लगायतका विषयमा नेकपाकै स्वार्थ समुहको हितमा काम नगरेकाले पाखा लगाउने प्रयास भएको नेकपा नेतृत्वलाई आरोप लागेको छ ।
नेताहरूले परिवारका सदस्य तथा आफन्तहरूलाई क्याम्पसको शिक्षक तथा कमर्चारीमा करार नियुक्ति गर्न, आफन्तको नाममा रहेको जग्गा आपैmँले तोकेको मूल्यमा क्याम्पसले खरिद गरिदिन दवाव दिएपनि गुागाईले नटेरेपछि उनिविरुद्ध चौतर्फी दवाव सृर्जना गरेको प्राध्यापकहरुको आरोप छ । क्याम्पसको त्रिवि प्राध्यापक संघले क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, क्याम्पस कार्यसमिति र सहायक क्याम्पस प्रमुखहरुले समस्या समाधानका लागि चासो नदेखाएको आरोप लगाएको छ । इकाई सभापति तारानाथ पराजुलीले विज्ञप्ति निकालेर समस्या समाधान गर्न वा राजिनाम दिएर वातावरण बनाउन माग गरेका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवर र क्याम्पस प्रमुख गुरागाईको झगडा मंगलबारबाट अदालत सम्म पुगेको छ । मंगलबार क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले उच्च अदालत विराटनगर इलाम इजलासमा क्याम्पसका सञ्चालक समिति अध्यक्ष राजेन्द्र कुवर र सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेललाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । आफुले पौष १६ गतेबाट नै क्याम्पस बिदा गरेको भएपनी सञ्चालक समितिको नियम विपरीत बैठक बसाएर २२ गतेदेखि बिदा गर्ने निर्णय गरेर सुचना टास गरेको भन्दै मुद्दा दर्ता गरेका हुन् । अदालतमा बुधबार मुद्धाको सुनुवाई भएको छ । अदालतले २७ गते दुबै पक्षलाई बोलाएको प्राध्यापक संघका सदस्य सन्तोष पराजुलीले जानकारी दिए ।
क्याम्पसमा २ हजार भन्दा माथी विद्यार्थी रहेका छन् । इलाम नगरपालिकाले पहिले पर्याप्त दिदै आएको पानी समेत घटाएको छ । प्रमुख गुरागाईले अहिले दैनिक दुई सय लिटरको हाराहारीमा पानी आउने गरेको छ । क्याम्पसको छात्राबासमा ६० पुरुष र ७० महिला बस्ने गरेका छन् । १३ वटा क्वाटारमा प्राध्यापक र कर्मचारी बस्दै आएका छन् । प्रमुख गुरागाईले विद्यार्थीलाई पानी किनेर खुवाउने गरेको बताए ।
प्रमुख गुरागाईले विद्यार्थीका माग क्याम्पसमै बसेर पुरा गर्न नसकिने भएकाले त्रिभुवन विश्व विद्यालय, कृषि मन्त्रालय, लोकसेवा आयोगले सम्बोधन गर्नुपर्ने विषयमा काम गर्न काठमाण्डौ बस्नु परेको बताए ।
प्रतिक्रिया