प्रदेश निर्वाचनमा नौ जनाको नाम सिफारीस

प्रदेश निर्वाचनमा नौ जनाको नाम सिफारीस


सूर्योदय । नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश ‘क’ ले प्रदेश सभा निर्वाचनका लागि ९ जनाको नाम सिफारीस गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि महाधिवेशन प्रतिनिध र प्रदेश प्रतिनिधिहरुको बैठकले प्रत्यक्ष र समानुपातिकका लागि नाम सिफारीस गरेको प्रदेश ‘क’ का सभापति मैया लिम्बुले जानकारी दिइन् ।
भदौं ९ गतेको केन्द्रीय परिपत्र अनुसार समितिको मंगलबार बैठक बसेको थियो । बैठकले नेपाल महिला संघकी क्षेत्रीय सभापति बन्दना (खगेश्वरी) अधिकारी, महाधिवेशन प्रतिनिधि नेता देवेन्द्र राई, उद्धव पौड्याल, हुकुमलाला थेवे, हरिप्रसाद लुईटेल, प्रकाश भट्टराई, सञ्जिव ढकाल, मिलन क्षेत्री, देवेन्द्र सुवादीको नाम शिफारीस गरेको हो । नेता राई यस अघि पनि त्यही क्षेत्रबाट चुनावी मैलदानमा उत्रिएका थिए ।
बैठकले समानुपातिक तर्फ प्रदेश सभापति लिम्बु, महाधिवेशन प्रतिनिधि जिवन नेपाली सहित १३ जनाको नाम सिफारीस गरेको जनाइएको छ ।
नेपाली काग्रेसको विधानको धारा (७)ले प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्र भित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तिमा एक महिला सहित बढीमा दुई जनाको नाम सहमति हुन सकेमा सहमति अनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी प्रतिनिधि छड सभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउने व्यवस्था गरेको छ । नाममा सहमतीका लागि प्रयास गरेपनि पहँचवालाले टिकट पाउने भन्दै सहभागिले सबै नाम पठाउन आग्रह गरेपछि आकाक्षीहरुको सबै नाम पठाएको प्रदेश ‘क’ समितिकी सचिव कुसुम दहालले जानकारी दिइन् ।
विधान अनुसार प्रदेश समितिले सिफारीस गरिएको सूची कांग्रेसको क्षेत्रीय समितिमा पठाउने छ । प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी जिल्ला कार्यसमितिमा पठाउनेछ । जिल्ला कार्यसमितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी प्रदेश कार्यसमितिमा पठाउनेछ । प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी केन्द्रमा पठाउनेछ । केन्द्रले प्राप्त नामको विवरण आफूसंग राखी केन्द्रीय संसदीय समितिमा पठाउनेछ । केन्द्रीय संसदीय समितिले प्राप्त नाम मध्ये सहमति हुन सकेमा सहमति र सहमति हुन नसकेमा बहुमतवाट निर्णय गरी उक्त निर्णय केन्द्रीय कार्य समितिवाट अनुमोदन गराई पार्टीको तर्फवाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्नेछ ।
प्रदेश सभा सदस्य समानुपातिक तर्फ मातहत निकायबाट सिफारिस भएका नाममा नेपालको संविधानको धारा १७६ बमोजिम उम्मेदवारी दिन कुनै समावेशी समुदायको नाम प्राप्त नभएमा वा प्राप्त नाम पर्याप्त नभएमा केन्द्रीय संसदीय समितिले सिफारिस नभएको व्यक्तिलाई पनि उम्मेदवारका लागि निर्णय गरी उम्मेदवारी दिने व्यवस्था मिलाउनेछ कांग्रेसको विधानमा उल्लेख छ । इलामका दुई निर्वाचन क्षेत्रका ४ प्रदेश सभा क्षेत्रीय समितिले नाम सिफारीस गरेको छ ।