आमा विनाको घर

कविता

रिता पोख्रेल

हुन् धेरै सुविधा अनेक चिज हुन् आफन्त जो हुन् तर
रित्तै हुन्छ हुँदैन पूर्ण कहिले आमा बिनाको घर
प्रातैमा पनि अन्धकार मन यो बल्दैन सौदामिनी
पुग्दा झट्ट न हुन्छ न्यानु घरमा बल्दैन चुल्हो पनि

भान्साको रसिलो मिठोपन गयो के हुन्छ आफ्नो पन
कस्ले दिन्छ र खान गाँस त्यसरी सद्भाव माया सँग
भोकायौ कि त प्यासले भन त लौ थाक्यौ कि नानी?भनी
आमाको ममता र काख नहुँदा सोध्दैन कोही पनि

आमा जूनजसै थियौ र घरमा औँशी लुकेको थियो
त्यै तिम्रो अनुहारको चहकमा कालो झुकेको थियो
औँशीदेखि सिवाय छैन अहिले छोपी दियो चन्द्रमा
कालो बादल डुल्छ आज नभमा मन् डुब्छ आषाढमा

झुल्के घाम सधैँ उही क्षितिजमा आमासँगै उठ्दथ्यो
आमाकै सँगमा थिए सब कुरा ऐस्वर्य भै जुट्दथ्यो
लाली छैन कतै विहानपखको आमा नउठ्दा अव
चर्केका मन मात्र छन् दिन दिनै फिक्का भयो सौरभ

कस्तो हालत हुन्छ आज घरको छानो उडाए पछि
के गर्छन् जव माहुरी ल टुहुरा रानो हराए पछि
अर्को शान्ति कतै हुँदैन कहिले त्यो काखभन्दा पर
साँच्चै शुन्य उजाड बन्दछ सखा आमा विनाको घर