ओच्छ्यान बाहिर
निन्द्रा राखेर
रातभरी आँखामा
सपना खेलाएँ
मनका प्रतेक ढोकाहरु
उदाङ्गो बनाएँ
बताससँगै बहने
विचारहरुलाई समेटेर ल्याएँ
आँखा वरिपरि सझाएर राखेँ
तर पनि कविता फुरेन।
कति भोका पेटहरुले
राहतको अन्न
पेटभरी खाएर
जिउँदो रहने
सङ्कल्प गरेका थिए होला
सिमानामा अलपत्र परेका
ज्यूदा लासहरु माथि
टेकेर कत्ति हिँडे होला
यिनै कल्पनामा हराएर
आधा रात सिध्याएँ
तर पनि कविता फुरेन ।
कत्ति सही थिए
कत्ति गलत थिए
विश्वका मृत्युका समाचारहरु
समुन्द्रमा माटो नपाएर
बग्दै गरेका लासहरु,
आँखा अगाडिको
दृष्य बनेर आउँदा
मुटु छियाछिया भएर
फाटेको थियो
तापले हिउँ पग्लिए झैं
पग्लिएका थिए भावहरू
तर पनि कविता फुरेन
आज मलाई कविता फुरेन ।।
प्रतिक्रिया