राईको आर्थिक सहयोगमा चामल बितरण

इलाम नगरक्षेत्रका अति विपन्न बर्गलाई राहत स्वरुप चामल बितरण गरिएको छ । ७५ जना मजदुरी गर्ने ब्यक्तिहरुलाई प्रतिब्यक्ति ४ किलो चामलको दरले वितरण गरिएको हो । इलामनगरपालिका २ सुम्बेकका छत्रमान खालिङ राईको आर्थिक सहयोगमा आइतबार विपन्न वर्गलाई चामल वितरण गरिएको हो । खालिङ बैदेशिक रोजगारको क्रममा हाल दक्षिण कोरियामा रहेका छन् । लकडाउनको हालको विषम परिस्थितिमा बनिबुतो गरिखाने नागरिकहरुलाई शंकट परेको भन्दै उनले सहयोग गरेको बताइएको छ ।

इलाम नगरपालिकाको वडा नम्बर ७ संगको संयोजनमा इलाम ग्रीन पेजले मालापथ क्षेत्रमा सो खाद्यान्न वितरण गरेको हो । ३० हजार मुल्य बराबरको ५०० किलो चामलमध्ये ३५० किलो चामल मात्र वितरण गर्न पाएको संयोजन संस्थाका राजन श्रेष्ठले बताउनुभयो । यता इलाम नगरपालिकाले खाद्यान्न वितरणको लागि अनुमति नलिएको भन्दै प्रहरी पठाएर वितरणमा रोक लगाएपछि बाँकी खाद्यान्न वितरण गर्न रोकिएको छ । माइ मेडिकल इलामले पनि बिपन्न बर्गकै लागि भनेर उपलब्ध गराएको ४० किलो च्युरा समेत वितरण गर्न नपाएको बताइएको छ । नगरपालिकाले अनुमति दिएको खण्डमा घरदैलोमै गएर बाँकी चामल वितरण गर्ने बताइएको छ । इलामनगरपालिकाले आइतबारै खाद्यान्न लगायतका सामाग्री बितरणमा प्रशासनबाट अनुमति लिनुपर्ने निर्णय गरेको छ ।