चैत २८, इलाम । लामो समयको लकडाउनका कारण किसानले लगाएका तरकारी बारीमै नष्ट हुन थालेको छ । बजारसम्म तरकारी पु¥याउन नपाएका कारण तयारी अवस्थामा रहेको तरकारी बारीमै सुक्न थालेको हो ।
तरकारीको पकेट क्षेत्रको रूपमा रहेको इलामको इलामनगरपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिकाका बिभिन्न गाउँमा उत्पादन भएको तरकारी बारीमै कुहिन थालेको हो । सोयाङ, बरबोटे, नामसालिङ्ग, साँखेजुङ्ग, गोदक, फिक्कल लगायतका स्थानमा ब्यबसायिक तरकारी खेती हुने गरेको छ । सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै ११ चैत यता लगाइएको लकडाउनका कारण बारीमा उत्पादन भएका तरकारी नष्ट हुन थालेको हो । लकडाउनका कारण तरकारी बजारसम्म पु¥याउन नसक्दा बारीमै नष्ट भएर जान थालेको सोयाङ्गका कृषक रमेश तामाङ्गले बताउनुभयो । सरकारले तरकारी सजिलै बेच्न सक्ने वातावरण सिर्जना नगरिदिए ठूलो घाटा लाग्ने उहाँको भनाई छ । बारीमै तरकारी नष्ट हुन थालेपछि कतिपय किसानले जोखिम मोलेरै भएपनि तरकारी लिएर इलामका बिभिन्न बजारसम्म बिक्रिका लागि पुरयाउन थालेका छन् । तर बजारमा किन्ने मान्छे नहुँदा तरकारी ब्यबसाय गर्दै आएका केही ब्यपारीलाई सस्तोमै बिक्रि गर्नुपर्ने बाध्यता रहेको कृषकको गुनासो छ ।
किसानलाई अहिले नाफाभन्दा पनि लगानी उठाउन धौ धौ परेको छ । एकातिर किसानका तरकारी खेतबारीमै सुक्न थालेको छ भने अर्कोतर्फ लकडाउनका कारण घरमै बस्नुपरेका बजार क्षेत्रका सर्वसाधारणले आसपासका पसलहरुमा चर्को मूल्यमा तरकारी किन्न बाध्य भइरहेका छन् ।
प्रतिक्रिया