इलाम । इलामनगरपालिका ८ र माईजोगमाई गाउँपालिकाको बीच भएर बग्ने माईखोलामा निर्माणधिन माईबेनी जलबिद्युत आयोजनाको काम समयमा नसकिने निश्चित भएको छ । करीब दुई अर्व रुपैंयाँको लगानीमा निर्माण भइरहेको उक्त आयोजनालाई बिश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले प्रत्यक्ष असर पारेको हो ।
९ दशमलव ५ मेगावट क्षमताको उक्त आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको थियो । तर अहिले कोरोना भाइरसको कारण निर्माणको काम ठप्प जस्तै भएको आयोजनाका प्रोजेक्ट मेनेजर बिरोध बञ्जाराले बताउनुभयो । उहाँले अहिले सुरुङ निर्माणको काम भने भइरहेको बताउनुभयो । मजदुरहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान गरेर सुरुङ (टनेल) निर्माणको काम भने भइरहेको उहाँको भनाई छ । आयोजनाका लागि १६ सय ८६ मिटर सुरुङ बनाइनेछ । एसबिआई बैंक र सिद्धार्थ बैंकको लगानी रहेको उक्त आयोजना कात्तिक मसान्तसम्म सक्नुपर्ने लक्ष्य रहेको थियो । तर अब उक्त समयमा नसकिने निश्चित भएको आयोजनाले जनाएको छ । महामारीको रुपमा बिश्वमा नै फैलिरहेको कोरोना भाइरसको रोकथाम र संक्रमण फैलिन नदिन सरकारले देशमा गत चैत ११ गतेबाट लकडाउन गरेको छ ।
लकडाउन गरेपछि आफूहरु पनि सुरक्षित हुनुपर्ने र अरुलाई सुरक्षित बनाउनु पर्ने भएपछि आयोजनाको अन्य काम केही पनि नगरेको प्रोजेक्ट मेनेजर बञ्जराको भनाई छ । आयोजनामा काम गर्ने ५ सय ३७ जना मजदुर मध्ये अहिले कर्मचारी र मजदुर गरेर ७२ जना मात्र आयोजना स्थलमा रहेको उहाँको भनाई छ । ३७ जना मजदुरहरु त हिँडेरै आ आफनो घरतर्फ गएको बताइएको छ । यता आयोजना स्थल क्षेत्रका स्थानीय बासिले आयोजनाले गाडीमा कामदारहरु ल्याएर गाउँमा आतङ्क फैलाएको आरोप लगाएका छन् । महामारीको समयमा पश्चिम तिरबाट कामदार ल्याएकोले गाउँमा डर त्रासको स्थिती उत्पन्न गराएको जनाएका छन् । यता आयोजना प्रोजेक्ट मेनेजर बिरोध बञ्जाराले भने यो बेला बाँच्ने र बचाउने समय भएकाले आफूहरुले कामदारहरु नल्याएको र भएको कामदार समेत गइसकेको बताउनुभयो । उहाँले यो समयमा बोलाउँदा पनि कोही नआउने हुँदा कामदार ल्याएको भन्ने कुरा गलत भएको बताउनुभयो । उहाँले गाडिमा सिमेन्ट भने ल्याएको जनाउनुभयो । त्यो पनि सम्बन्धित निकायबाट पास लिएर सिमेन्ट ल्याएको बताउनुभयो । सिमेन्ट ल्याएको गाडिमा चालक र एकजना हेल्पर बाहेक कोही पनि नआएको बताउनुभयो । उहाँले आफूहरु नै कसरी घर जाने भन्ने अवस्थामा रहेको बताउनुभयो । उता गाउँपालिका अध्यक्ष जीतबहादुर राईले आयोजनाले गाडिमा मान्छे ल्याएको भन्ने कुरा आफूले सुनेर आयोजना स्थलमा आएपनि मान्छे नभई सिमेन्ट मात्र ल्याएको देखिएको बताउनुभयो ।
आयोजनाले हेटौंडाबाट सिमेन्ट ल्याउने गरेकोले पाइएकाले त्यसले असुरक्षित बनाउने हुँदा यस बिषयमा गम्भिर हुन आयोजनलाई सुझाएको र यस्तो अवस्थामा गाउँपालिका सहित सम्बन्धित निकायहरुसंग समन्वय गरेर अघि बढ्न आयोजनालाई निर्देशन गरीसकेको अध्यक्ष राईले बताउनुभयो ।
प्रतिक्रिया