शहरमा मानिस घरभित्र, गाउँका खेतबारीमा

इलाम बैशाख १० । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन जारी रहेका बेला इलामाका ग्रामीण क्षेत्रका सर्वसाधरण खेतीपातीमा नै व्यस्त छन । लकडाउनका कारण इलामको शहरी क्षेत्रमा अत्यावश्यक काम बाहेक सर्वसाधरण घरबाहिर निस्किएका छैनन । तर गाउँबस्तीका सर्वसाधारण भने यतिबेला खेतबारीमा व्यस्त छन ।

धेरैजसो ग्रामीण क्षेत्रमा बालीनाली लगाउने र वर्षादको लागि दाउराको जोहो गर्न भ्याइनभ्याइ छ । कहिकतै हिडडुल गर्न नभएपनि समय अनुसारको खेती बाली स्याहार गर्नमा नै दिनचर्या वितीरहेको माइजोगमाइ गाउँपालिका ६ का भीम थेबेले बताउनुभयो । कृषि र नगदे बालीमा अग्रणी जिल्ला इलाममा अहिले अदुवा रोप्ने, चिया टिप्ने, मकै गोडमेल गर्ने, बिभिन्न लहरे तरकारी बालीलाइ माच लगाउने, दाउरा काट्न र थन्काउनमा व्यस्त छन । सिजन अनुसारको कृषि उपज, तरकारी बाली लगाउदै समय व्यातित भइरहेको इलाम नगरपालिका ४ का सागर दहालको भनाई छ । गाउँघरमा कोरोना संक्रमणको त्रास रहेपनि दैनिकी भने फेरिएको छैन । सिजन अनुसारको बिउ बिजन किनेर रोप्न नपाए पनि आफुसँग जेजति विउ बिजन छ त्यसैलाई किसानहरुले लगाउने गरेका छन् ।

कोरोना संक्रमणको त्रास सँगै खाद्य संकटको चिन्ता बढ्न थालेको बेला कृषिमा धेरैको चासो बढ्न थालेको छ । किनेरै छाक टार्नेहरु समेत घर करेसामा केही न केही उब्जनी गर्न लागी परेका छन । कृषिमा नै पौरख गर्नेहरु भने बिउबिजन, मल किन्न नपाउदा उत्पादन सोचेजस्तो नहुने भन्दै चिन्तित बनेका छन ।