इलाममा हालसम्म ४२७ जनाको कोरोना परीक्षण

इलाममा हालसम्म ४२७ जनाको कोरोना परीक्षण

बैशाख २६, इलाम । इलाम जिल्लाका बिभिन्न दशवटा स्थानीय तहका बिभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा हाल ५१ जना रहेका छन् । स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार सबैभन्दा बढी माङसेबुङ्ग गाउँपालिकामा २५ जना क्वारेन्टाइनमा रहेका छन् । सूर्योदय नगरपालिकामा १६ जना, फाकफोकथुम र माईजोगमाई गाउँपालिकामा ४÷४ जना तथा माईनगरपालिकामा २ जना क्वारेन्टाइनमा रहेका छन् । बाँकी स्थानीय तहको क्वारेन्टाइनमा हाल एकजना पनि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

माईजोगमाई गाउँपालिका ३ को स्वास्थ्य संस्थाको क्वारेन्टाइनमा बसेका ३ जनालाई क्वारेन्टाइन ब्यबस्थापन समितिले सबै किसिमको सुबिधा उपलब्ध गराएको वडा नम्बर ३ का वडा सदस्य निर्मल घिमिरेले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लामा कोरोना भाइरसको द्रुत परीक्षण रयापिड टेष्ट (आरडिटी) भने हालसम्म ४ सय २७ जनाको गरीएको छ । परीक्षण गरीएका सबैको रिपोर्ट भने नेगटिभ आएको बताइएको छ । जसमा सबैभन्दा बढी रोङ गाउँपालिकामा ८८ जनाको परीक्षण गरीएको छ । यसैगरी इलामनगरपालिकामा ७४ जना सूर्योदय नगरपालिकामा ५३ जना, देउमाई नगरपालिकामा ५६ जना र माईनगरपालिकामा ५९ जनाको आरडिटि गरीएको छ । यसैगरी सन्दकपुर गाउँपालिकामा १२ जना, फाकफोकथुम गाउँपालिकामा ४३ जना, चुलाचुली गाउँपालिकामा १३ जना, माईजोगमाई गाउँपालिकामा १६ जना र माङसेबुङ्ग गाउँपालिकामा २३ जनाको आरडिटी गरेको कोभिड १९ का फोकल पर्सन बरालले जानकारी दिनुभयो ।

इलामनगरपालिका स्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा बनाइएको क्वारेन्टाइनमा १५ जना राखिएको थियो । उनीहरुको पनि हिजो आरडिटि परिक्षण गर्दा सबैको रिपोर्ट नगेटिभ आएपछि सबैलाई घर फर्काइएको बताइएको छ । कोरोना भाइरसको संक्रमण र रोकथामका लागि जिल्ला बाहिरबाट आउने नागरीकलाई १४ दिनसम्म बस्ने गरी जिल्लाका सबै तहमा क्वारेन्टाइन निर्माण गरीएको छ । जिल्लामा ४ सय २३ बेड क्षमताको क्वारेन्टाइन बनिएका छन् ।