logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • इलाममा कोरोना परीक्षणको दायरा बढाउने स्थानीय सरकारले नै भिटिएम खरीद गर्ने

    इलाममा कोरोना परीक्षणको दायरा बढाउने स्थानीय सरकारले नै भिटिएम खरीद गर्ने

    जेठ ६, इलाम । सरकारले कोरोना भाइरस (कोभिड(१९) को परीक्षण दायरा बढाएपनि इलाममा भने स्वाब राख्ने भाँडो (भिटिएम) भने हालसम्म नहुँदा कोरोना परीक्षण खासै प्रभावकारी बन्न सकिरहेको छैन । स्वाब राख्ने भाँडो भिटिएम नहुँदा जिल्लामा आरडिटी परीक्षण मात्र हुँदै आएको छ ।

    शंकास्पद बिरामीको स्वाब संकलन गरेर परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, कोशि अस्पताल बिराटनगर र प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा लानुपर्ने बाध्यता बनिरहेको छ । तर जिल्लामै स्वाब राख्ने भाँडो भएको खण्डमा परीक्षणको दायरा बढ्ने र सहजता आउने स्वास्थ्य कार्यालय इलामले जनाएको छ । यसै क्रममा जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वाब राख्ने भाँडो प्रदेश सरकारसंग माग गर्ने भएको छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासका अनुसार आरडिटी परीक्षणलाई अब त्यति जोड नदिने तर भिटिएम मगाएर कोरोना परीक्षणको दायरा बढाउने तयारीमा आफूहरु लागेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका ३÷४ वटा स्थानीय तहहरुले भिटीएम खरीद गरेर कोरोना परीक्षणको दायरा बढाउने गरी लागेका छन् । सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र इलामनगरपालिका आफैले भिटिएम खरीद गर्ने भएका छन् । यी तीनवटा स्थानीय तहलाई ५÷५ सय र अन्य स्थानीय तहलाई एक÷एकसयवटा भिटीएम खरीद गर्न प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्लामा गठित कोभिड १९ संकट ब्यबस्थापन समितिले आग्रह गरेको छ ।

    जिल्लामा भिटिएम आएपछि संक्रमित फेला पर्न सक्ने पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकन गर्न सहज हुने भएको हो । जिल्लामा आरडिटीबाट मात्र कोरोनाको परीक्षण भइरहेको छ । तर आरडिटी परीक्षण खासै प्रभावकारी नभइरहेको गुनासो देशभरी नै भइरहेको छ । त्यसैले अब आरडिटी परिक्षण कम मात्रामा गर्ने पनि स्वास्थ्य प्रमुख दासले बताउनुभयो । जिल्लामा भिटिएम ल्याएपछि कोरोना संक्रमित भेटिएका ब्यक्तिको सम्पर्कमा आएकाको पनि २४ घण्टाभित्र परीक्षण गर्न सकिने बताइएको छ । स्वाब संकलन गरेर परीक्षणका लागि ल्याबमा पठाइनेछ । यता भिटिएमको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि स्वास्थ्य कार्यालय इलामले जिल्लाका दशवटै पालिकाका स्वास्थ्य प्रमुखलाई प्रशिक्षण दिएको छ । यस्तै सबै पालिकामा स्वास्थ्य प्रमुखको संयोजकत्वमा ल्याबमा काम गर्ने स्वास्थ्यकर्मी सहितको तीन सदस्यिय टोलि पनि गठन गरेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ जेष्ठ ६, मंगलवार ०३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP