पशुपतिनगर:इलामको नेपाल भारत सिमा नाका पशुपतिनगरबाट सोमबार भारतमा रोकीएका ४३ जनलाई नेपाल प्रवेश गराइएको छ । उनीहरु मध्ये ३३ लाई गृह जिल्ला दोलखा, १ लाई झापा पठाइएको छ । तेह्रथुमका ९ जनालाई सूर्योदय नगरपालिकाको क्वारेन्टीनमा राखिएको छ ।
कामको सिलसिलामा भारत गएका नागरिक मध्ये यस अघि आइतबार ७६ जना नेपाल प्रवेश गरेका थिए । उनीहरु मध्ये ५८ जनालाई दोलखा पठाइएको थियो । आइतबार नेपाल प्रवेश गरेका मध्ये ८ जनाको आरडिटी परिक्षणमा कोभिड पोजेटिभ देखिएपछि पिसिआरका लागि सोमबार विराटनगर पठाएको छ ।
जिल्ला स्तरीय विपद व्यवस्थापन केन्द्र र सूर्योदय नगरपालिकाको सहकार्यमा स्वदेश प्रवेश गराएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए ।
आरडिटिमा पोजेटिभ आए सूर्योदय नगरपालिकाकै करफोकमा रहेको होल्डीङ एरीयामा पिसिआर नआउन्जेल राखिने छ । सुकिया, दार्जिलिङ, मिरिक लगायतका स्थानमा कामका सिलसिलामा पुगेकालाई पशुपतीनगरबाट प्रवेश गराइएको हो । करफोकमा चार सय जनालाई राख्ने तयारी गरिएको छ । अहिले त्यहाँ २७ जना राखिएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए ।
भारतीय पक्षले उपलव्ध गराएको सूची अनुसार नेपालको दोलखा, रामेछाप, तेह्रथुम लगायतका जिल्लाका नागरिक नेपाल भित्रीने छन् । केन्द्रका अनुसार पशुपतिनगर नाका मार्फत नेपाल आउन १०१ जनाले नाम टिपाएका छन् । पशुपतिनगरबाट प्रवेश गर्नेको तथ्याक नरहेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी पोर्तेलले जानकारी दिए ।