इलाम, जेठ २३ । आइपास नेपालले इलाममा कोरोना भाइरसवाट सर्ने (कोभिड १९) रोगको सम्भावित संक्रमणवाट स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरेको छ । गुणस्तरीय सुरक्षित गर्भपतन सेवालाई समुदाय स्तरका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्रशतरवाट सञ्चालन गर्न विगत ५ वर्ष देखि आइपास नेपालले इलाम जिल्लामा सहयोग गर्दै आएको छ ।
जिल्लामा हाल १२ वटा सरकारी स्वास्थ्य संस्थावाट सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको छ । उक्त संस्थाहरु सवैलाई र त्यस स्वास्थ्य संस्था अन्तरगतका महिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरु प्रदान गरेको हो । संस्थाले स्वास्थ्य संस्थाहरुलाइ पि.पि.ई. सेट, गाउन, आई गगल्स, सर्जिकल तथा एन ९५ मास्क, पञ्जा, सेनिटाइजर, युटिलीटी ग्लोव्स, भाइरेक्स लगायतका सामाग्रीहरु प्रदान गरेको छ । सहयोग गरिएका सामाग्रीहरु सम्वन्धित पालिकामा हस्तान्तरण गरी पालिका मार्फत स्वास्थ्य संस्थामा पुरयाउने व्यवस्था मिलाईएको आइपास नेपालका प्रदेश संयोजक केदार भण्डारीले दिनुभयो । संस्थाले इलाम अस्पताल इलाम, प्राथमिक स्वास्थ्य केन्द्रहरु फिक्कल र मंगलवारे, स्वास्थ्य चौकीहरु लुरीङटार, साँखेजुङ, जीतपुर, फाकफोक, इभाङ, वाँझो, चुलाचुली, दानावारी, नयाँवजार रहेका छन ।
आइपास नेपालले प्रदेश १ सरकारलाई १ लाख ९१ हजार वरावरको स्वास्थ्य सामाग्री समेत सहयोग गरेको छ । यस्तै सुनसरी, तेह्रथुम, संखुवासभा र इलामका ६० वटा स्वास्थ्य संस्थालाई करिव १२ लाख ५४ हजार रकम वरावर सहित प्रदेश १ मा १४ लाख ४५ हजार वरावरको स्वास्थ्य सामाग्री वितरण गरेको संयोजक भण्डारीले जानकारी दिनुभयो ।