इलाम :अरु तिर सरकारी रकममा दिनभरी नाचगान गरेर दलका नेता कार्यकर्ता महिलाहरुले तिज मनाएको तस्विर सार्वजनिक भइरहँदा इलाम नगरपालिकाको हरित नगर महिला समूहले श्रमिक महिलाहरु संग खुशी साटासाट गरेर तीज मनाएको छ ।
समूहले नगरका ४० जना महिलालाई बस्त्र र महिलाको सृङ्गारको सामग्री हस्तान्तरण गर्दै तीज मनाएको हो
समूहकी अध्यक्ष रिना घिमिरेका अनुसार ४० जना महिलाका लागि साडि, सिन्दुर प्रदान गरिएको हो । समूहको आफ्नै स्रोत र दाताको सहयोगमा नगरमा छरिएर रहेका श्रमिक महिलाहरुलाई तिजको अवसरमा सहयोग गरेको हो । अध्यक्ष घिमिरेले बताईन् ‘महिलाको नाममा सुकिला मुकिलाले रमाईलो गरेको त देखियो तर देश बनाउने श्रमिक महिलाको विषयमा कसैको ध्यान पुगेन त्यसैले सबैको ध्यान श्रमिकमा पार्न पनि यस्तो कार्यक्रम राखेका हो ।’
इलामका विभिन्न स्थानीय तहले स्थानीय महिलाका संस्थाहरुसंग मिलेर कार्यक्रम गरेपनि त्यहाँ पहुँचवाला महिलाको जमघट हुने थलो मात्रै बन्दै आएको छ । विभिन्न रचनात्मक काम गर्दै आएको समूहले यसअघि नगरपालिका क्षेत्रमा विभिन्न क्षेत्रमा श्रम गर्ने महिलाहरुलाई यसअघि सामूहिक दरसमेत खुवाएको थियो । हरित नगर महिला समूहले आयोजना गरेको कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने चन्दा कार्की, सुमित्रा घिमिरे र सुनिता वस्नेतलाई सम्मान गरियो ।
महिलाहरुको महान पर्वको धार्मिक र सांस्कृतिक पाटोलाई भन्दा रमाइलोमा विताउने चलनले विक्रिती वढेको भन्दै आफूहरुले सामाजिक दायित्वसमेत ग्रहण गरेर श्रमिकहरुकालागि कपडा सहयोग गरेको समुहकी अध्यक्ष घिमिरेले वताइन् । समूहले नगर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा दिनभर विविध सांगितक, सांस्कृतिक गतिविधि संचालन गरिए । इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना, इलाम नगरपालिका ४ का वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलाल, वडा नं। ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यता सूर्योदय नगरपालिकामा पनि नगरपालिका, सूर्योदय महिला मञ्च लगायतका संस्थाले दिनभरी नगरपालिका अघि नाचगान गरेकाको आयोजना गरेका थिए ।
प्रतिक्रिया