रमाइलो झ्याम्टे मेला

रमाइलो झ्याम्टे मेला


राजिव न्यौपाने ,सूर्योदय : राई संस्कृतीसंग जोडीएको झ्याम्टे मेला आज इलामको सूर्योदय नगरपालिका ११ को पुर्णे डाँडामा लाग्दैछ । प्रत्येक बैशाख पुर्णीमा र मंसिरे पुर्णीमामा लाग्ने मेलामा स्थानीय क्षेत्रको सघन उपस्थिती रहने गरेको छ ।
जतिवेला खलंगा पुर्णे डाँडामा बस्यो । त्यहा वडाहाकिम थिए । शुरक्षा दस्ता थिए । यस क्षेत्रमा राईहरुको सघन बसोबास थियो । मनोरञ्जनका लागि वडा हाकिमलाई विभिन्न जातको सस्कृती देखाउने क्रममा राई जातीको सास्कृतीक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टा सहित सहभागि हुने राईहरुको नृत्य धेरैले मन पराए । यसले झ्याम्टे मेलाको रुप लिएको स्थानीय दिपक अधिकारीको तर्क छ ।
अहिले पनि प्रत्येक बर्ष बैशाख शुक्ल पुर्णिमा र मंसिरे पुर्णीमाको दिन झ्याम्टे मेला लाग्ने गरेको छ । स्थानीय वृद्धा कमल बहादुर राईका अनुसार जुन समय मान्छेसंग रमाईलोका साधन थिएनन् । जमघट हुने बहानाहरु थिएनन् । त्यसवेला पर्व, मेला नै रमाईलो गर्ने स्थलहरु हुने गर्दथे । भेटघाट हुने, कुराकानी हुने ठाउँको रुपमा मेला पर्वहरुको आयोजना हुने गरेका थिए । पछिल्लो समय तिनै मेलाहरु जाती विशेषको पहिचानको आधार समेत बन्ने गरेका छन् ।
झ्याम्टे मेला खलंगाको आसपासमा फैलीएको करिब १३ रोपनी जमिनमा लाग्ने गर्दछ । राई भन्छन् ‘हाम्रो हजुरबा पुस्ताले पनि झ्याम्टे मेलाको चर्चा गर्नु हुन्थ्यो ।’ खलङ्ंगाको जन्मसंगै मेलाको उत्पती जोडिएको स्थानीयको दावी छ ।
मेलामा साकेला नाच्ने चलन अहिले पनि छ । वृद्ध राईका अनुसार पहिले साकेला नाचबाटै मन परेकी तरुनी तानेर लैजाने र श्रीमती बनाउने चलन नै थियो ।
राई संस्कृतीसँग जोडिएको पुर्णे डाँडाको मेला माओवादीले शुरु गरेको सशस्त्र द्धन्द पछि रोकीएको थियो । करिब २५ बर्ष सम्म त्यस स्थानमा मेला लाग्न सकेन । पछिल्लो समय स्थानीयको पहलमा गत बर्ष देखि मेला शुरु गरेको स्थानीय युवा अनुप मेवाहाङ राई बताउँछन् । पुर्णे डाँडाको संरक्षण र प्रचारमा प्रयास गरिरहेका मेवाहाङले झ्याम्टे मेला र खलंगाबारे धेरैकुरा थाहा नभएपनि स्थानीय युवाहरु राई संस्कृती संरक्षणसंगै एतीहासीक सम्पदा संरक्षणमा प्रयास गरिरहेको बताउँछन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीबाट मेची राजमार्गमा ४६ किलोमिटरको दूरी पार गरेपछि मेची राजमार्गको करफोक खण्डमा आइपुगीन्छ । त्यसकै आडमा पर्छ ऐतीहासीक खलंगा अथवा पुर्णे डाँडा ।
लाप्चा, लिम्बू, राई, तामाङ, गुरूङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसको यहाँ बसोबास रहेको छ । धान नाच, च्याव्रुङ, चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन् ।
लेखक केदार शर्मा आफ्नो लेखमा उल्लेख गर्छन ‘फिक्कलबाट इलामबजारतिर लाग्दा चार किलोमिटर पूर्वमा करफोक विद्या मन्दिर माध्यमिक विद्यालय र पञ्चकन्या देवीको मन्दिर छ । वि.सं. २००९ मा करफोक विद्या मन्दिरमा भएको कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि देवकोटा र स्वनामधन्य बालकृष्ण सम उपस्थित राष्ट्रिय कविगोष्ठीलाई इलामले नै प्रतिष्ठाको विषय मान्ने गरेको छ । यहाँ मास्तिरको पूर्णेडाँडामा वि.सं. १८७२ मा सुगौलीको सन्धि पछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो भनिन्छ । भ्याउनुभयो भने पूर्णेडाँडासम्म पनि पुगेर इलामको सम्पूर्ण भाग हेरे राम्रै हुन्छ ।’
इलाममा सामरीक रुपमा समेत शुरक्षाका लागि प्रशासनिक अड्डा राख्ने थलोको खोजी हुदै थियो । १३ सय मिटरको उचाईमा रहेको सामरिक दृष्टिले समेत सहज देखिने पुर्णे डाँडामा पहिलो पटक प्रशासनिक अड्डा राख्ने व्यवस्था भयो । सुगौलीको सन्धिपछि वि स १८७५ मा इलामको सुर्योेदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सारीनु दुई बर्ष अघिको प्रशासनिक अड्डा हो पुर्णे डाँडा ।
प्रशासनिक अड्डाका ईटा लगायतका भग्नाबसेसहरु अहिले पनि त्यहाँ पाइन्छन् । अड्डाका कलात्मक ढोकाहरु अहिले पनि गाउँघरमा पाईने गरेको स्थानीय दिपक अधिकारी बताउँछन् ।
ई.स १८१६ अघि सिक्किम–दार्जिलिङ गोर्खा राज्य छँदा यस जिल्लाको सदरमुकाम दार्जिलिङ जिल्लाको नागरी भन्ने ठाउँमा थियो । सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धीले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडा हाकीम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पुर्णे डाँडामा सारेको अनुसन्धानकर्ता नरेन्द्रनाथ बाँस्तोलाले पूर्वाञ्चलमा सात सालको क्रान्ति नामक पुस्तकमा उल्लेख गरेका छन् ।
त्यसबेला तमोरनदी पुर्व लिम्बुवान करफोकबाट हेरिन्यो । तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो ।