४१ औ विपी स्मृतीमा विचार गोष्ठी

४१ औ विपी स्मृतीमा विचार गोष्ठी


पुराना दललाई सुध्रिन सुझाव
फिक्कल : विपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ ले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले पुराना दलहरुले चाल नसुधारे थप घाटा व्यहोनु पर्ने चेतावनी दिएका छन् ।
इलामको फिक्कलमा आयोजना गरेको ४१ औ विपी स्मृती दिवसलाई सम्बोधन गर्दै आचार्यले कांग्रेस, एमाले र माओवादीले आफ्नो यात्रा र एजेण्डा बदलेर अघि बढ्नु पर्ने सुझाउ दिए ।
विपीसँग आठ बर्ष संगत गरेको आचार्यले गिरीजा प्रसाद कोईरालाँंग निकट रहेर लामो समय काम गरेका छन् । उनले विपीले राष्ट्र बनाउने यात्रामा सफलता पाएको बताए । उनले भने ‘देश बनाउन युद्ध जित्दा पुग्छ तर राष्ट्र बनाउन जनताको मन जित्नु पर्छ ।’


उनले विपीको कठिन प्रयासकै कारण मुलुक अहिलेको अवस्थामा आएको बताए । उनले भने ‘जतिवेला विपी आन्दोलनमा थिए त्यतीवेला उनीसंग सरकार थिएन, सत्ता थिएन र सत्ता पाउने सम्भावना पनि थिएन तर उनी लडिरहे । उनीसंग संघर्ष थियो, कठोर यातना र पिढा थियो ।’
उनले नेतृत्व विश्वासिलो र प्रभावकारी हुनुपर्ने बताए । विपीले नेपालको राष्ट्रियतालाई जोड्ने काम गरेकाले नै सात सालको विद्रोह सफल भएको भन्दै अवका नेता पनि उनी जस्तै निष्कलंक र भरपर्दो हुनुपर्ने बताए ।


राजनेता भएर नेपाल देखि अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउने नेताको रुपमा विपी उदाएको आचार्यले बताए ।
उनले प्रश्न गरे ‘विपीले त १० बर्षमा सबै नेपालीलाई मेरो परिवार जस्तो बनाउछु भनेको थिए । अहिलेका केपी शर्मा ओली , पुष्पकमल दहाल प्रचण्ड वा शेरबहादुर देउवाले दश बर्षमा मेरो परिवार जस्तै देशका सबै नागरिकलाई बनाउछे भन्न सक्दछन् ?’


कोशी प्रदेशका सांसद तथा नेपाली कांग्रेस नेता केदार कार्कीले विपीले आफुले व्यवहारमा उतार्ने कालाई नै विचारमा परिणत गर्नु भएकाले उहाँको विचार सर्वस्विकार्य भएको बताए । उनले अहिले विपीको विचार एकतातिर पार्टी अर्केतिर गएको उनको टिप्पणी छ ।
नेपाली कांग्रेस इलाम क्षेत्र न १ का सभापति समशेर राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति डम्बर खड्का, कांग्रेस नेता भेषराज आचार्य लगायतका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।