logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • मन्त्रीलाई खिरको बद्ला गुनासो

    मन्त्रीलाई खिरको बद्ला गुनासो

    इलाम : पर्यटकीय जिल्ला इलामका लागि शुन्य बजेट विनियोजन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती इलामबाट विजयी सांसदहरुकै तीखो गुनासो र प्रहार सहेर फर्केका छन् । खिर खाने दिनको अवसर पारेर साउन १५ मा इलाम आएका उनलाई जनप्रतिनिधिहरुले वजेट नै विनीयोजन नगरेको भनेर गुनासो सुनाएका हुन् ।
    सूर्योदय नगरपालिकाले आर्थीक बर्ष २०८०–०८१ को नीति कार्यक्रम र वजेट सार्वजनीक गर्न आयोजना गरेको कार्यक्रममा सहभागि हुन आइतबार साँझ इलामको सूर्योदय आएका मन्त्री किराँतीले सूर्योदयका व्यपारीक र पर्यटकीय क्षेत्रको अवलोकन गरेका थिए ।
    उनले पशुपतिनगर नाका, त्यहाँको बजारको अवस्था, कन्याम र अन्तुको भ्रमण पछि सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएका थिए ।
    किराँतीले बोल्नु अघि सम्बोधन गर्ने मौका पाएकी कोशी प्रदेशकी सांसद खिनु लङवा लिम्बुले मन्त्रीको पालामा इलामको पर्यटन विकासका लागि बजेट नै विनीयोजन नगरेको भन्दै असहमती जनाएकी थिइन् । सांसद लङ्वा भन्दै थिइन् ‘८०–८१ को बजेटमा इलाम जिल्लामा पनि एउटा पनि बजेट देखिएन । मैले ६ चोटी पढे तर एउटा पनि योजना देखिन ।’ उनले संघिय सरकारको पर्यटन बजेट विभेदकारी भएको बताइन् । उनले भनिन् ‘योजनाकार, नीति निर्माताले विभेद नगरीकन काम गर्नु पर्छ, भोजपुर खोटाङमा टोलै पिच्छे योजना छ इलाममा किन छैन ।’ उनले मन्त्री किराँतीलाई इलाम जिल्लालाई सम्मान जनक व्यवहार गर्न अनुरोध गरीन् ।
    प्रदेश सांसद लङवाले जस्तै असन्तुष्टी पोखे संघिय सांसद महेश बस्नेतले । यस अघि संसदको ‘सुन्य समय’मा समेत मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै दर्जनौ योजना लगेर इलाममा सुन्य बजेट छुट्याएको गुनासो गरेका सांसद बस्नेतले भने ‘ पर्यटन मन्त्री आउनु भएको छ, कुनाकानी बजेट रहेको छ भने इलामलाई पनि सम्झनु होला ।’ उनले पर्यटकीय नगरीमा आउने मेची राजमार्ग जिर्ण बन्दै गएको भन्दै यो सडक दुई लेनको बनाउन सरकारलाई भने पनि प्रतिपक्षीको आवाज नसुनेको गुनासो गरे ।
    बस्नेतले दुग्ध विकास वोर्ड खारेजको सरकारी नीति किसान मारा भएको आरोप लगाए । उनले सिमानामा सटही काउण्टर नभएकाले समस्या भएको बताए ।
    संविधान सभा सदश्य टिकाराम शुब्बाले इलामका पर्यटकीय डाँडा घुमेर फर्कन लागेका मन्त्री किराँतीलाई यहाँका डाँडाकाँडाले जे मागेको छ त्यही पुरा गर्न आग्रह गरे ।

    मन्त्री किराँतीले भाषणको शुरुमै रमाईलो गरे ‘खिर खाने दिन अलिअलि गाली खाइयो ।’ उनले गाली पनि रसिलो दिएको भन्दै जवाफ फर्काए । उनले सानो बजेट भएकाले नै सबैतीर बजेट पु¥याउन नसकेको प्रष्ट पारे । उनले भने ‘तुलनात्मक रुपमा इलाम अहिले पनि भोजपुर भन्दा अघि नै छ ।’ उनले नेपाली पर्यटन नेपाली पनकै हुनुपर्ने बताए ।
    उनले विदेश भ्रमणमा मात्रै ठुलो बजेट राखेर पर्यटनको बजेट दोहन हुने गरेको गुनासो गरे । उनले भने ‘युरोपका गाडीको पछि नाग टाँसे जस्तो पर्चा टालेर पर्यटन विकास हुदैन ।’ तर, युरोप भ्रमणमै ठुलो रकम स्वाहा हुने गरेको उनले बताए । उनले पशुपतिनगरमा सटही काउण्टर नभएको कारण स्थानीय र पर्यटकले समस्या भोगी रहेको भन्दै काठमाण्डौ फर्केर सटही काउण्टर राख्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरसंग कुरा गर्ने बताए ।
    सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपमेयर दुर्गा कुमार बरालले सूर्योदय नगरपालिकाको दिगो विकासका लागि कृषि र पर्यटनलाई संगसंगै अघि बढाइ रहेको बताए ।
    कार्यक्रममा नगरमा विभिन्न क्षेत्रमा योगदान गर्ने २८ जनालाई सम्मान गरिएको थियो ।



    Avatar निगरानी    
  • २०८० श्रावण १६, मंगलवार ०२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP