काठमाडौं । निर्वाचन आयोगले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गरेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सहज भएको छ । रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा रहेका गुरुङको उम्मेदवारी खारेज भएपछि केही स्वतन्त्र र केही नाम नसुनेका उम्मेदवारहरु मात्रै रहेका छन् ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड ९ज० बमोजिम उम्मेदवार हुन अयोग्य देखिएको विज्ञप्तिमार्फत जानकारी गरएको छ । उक्त दफामा ‘कालोसूची’ मा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ ।
आयोगले गुरुङ कालोसूचीमा रहनुको विस्तृत कारण नखुलाए पनि उनीविरुद्ध अदालतले बैंकिङ कसुरमा जरिवाना गरेको तर भुक्तानी नगरेकाले उम्मेदवार बन्न अयोग्य ठहर गरेको हो । गुरुङ र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६ साउन ०७६ मा मुद्दा दर्ता भएको थियो ।
अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सञ्जीव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा १२ मंसिर ०७८ मा उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो । गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि ६ साउन ०७६ सम्मको सयकडा १० प्रतिशतका दरले कानून बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो ।
ख्नालका छोरी निर्भिकसहित भएर गौतमबुद्ध विमानस्थलको ठेक्का लिएका थिए । त्यसमा विष्टलाई तिर्नुपर्ने रकममा उनीहरुले दिएको चेक बाउन्स भएपछि त्यसको जरिवाना र व्याजसहितको रकम भुक्तानी नगरेका कारण उनको उम्मेदवारी खारेज भएको हो ।
आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको हो । नेकपा एकीकृत समाजवादीका गुरुङ एमाले उपाध्यक्ष पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी थिए ।
गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुषालको उम्मेदवारी पनि खारेज भएको छ । भुषालले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि उनी दलका उम्मेदवार थिए ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमद्वारा गए राति जारी सूचनामा गुरुङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्याल प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड ९ज० तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ ९ज० बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले निज उम्मेदवारको मनोनयन खारेज हुने उल्लेख छ ।
त्यस्तै सोही क्षेत्रबाटै प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा भुषालको भने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड ९ङ० बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज भएको उल्लेख छ ।
भुषालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए । उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।
डा। भुषाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत रहेका थिए । भुषालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।
प्रतिक्रिया