इलाम : पाँचबटा स्वार्थ समूहमा विभाजित नेपाली काङ्ग्रेस इलामका नेताहरु प्रायः मञ्चमै व्यक्तिगत विवादमा उत्रिनु सामान्य जस्तो लाग्छ । इलाम सदरमुकामका पाँच जना नेताको ‘सिण्डीकेट’को कारण कांग्रेस थप कमजोर भएको कार्यकर्ताको निष्कर्ष सहित नेपाली कांग्रेसका नेता, कार्यकर्ताको भेलाले इलामको निर्वाचन क्षेत्र न १ बाट स्थानिय स्तरमा योग्य र रुपान्तरित नेतृत्व निर्माण अभियान शुरु गरेका छन् ।
भेलाले स्थानीय तहका कार्यकर्तासंगको संवादलाई प्रभावकारी रुपमा अघि बढाउने तयारी गरेको अभियानका संयोजक भिष्म प्रधानले जानकारी दिए । भेलाले अभियानको क्रममा बहसका लागि अवधारणा पत्र समेत पारित गरेको छ ।
पुर्वी इलाममा उपलव्ध महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश, पालिका देखि वडा सम्मका पदाधिकारी, सदस्य, भातृ, भगिनी, शुभेच्छुक संघका पदाधिकारीको भेलाले अभियानका क्रममा बहसका लागि १४ बुँदा समेत स्विकृत गरेको छ ।
नेपाली काङ्ग्रेस इलाम क्षेत्र न १ का पुर्व क्षेत्रीय सभापति भिष्म प्रधानको अध्यक्षता, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवं सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल सहितको उपस्थितीमा सम्पन्न भेलाले क्षेत्रगत रुपमा इलाम क्षेत्र न १ का नेता कार्यकर्ता उपेक्षामा परेकाले स्थानिय, योग्य र रुपान्तरीत नेतृत्व निर्माणका लागि टोल सम्म अभियान पु¥याउने निर्णय गरेको छ ।
अभियानले पारित गरेका अवधारणा पत्रमा भनिएको छ ‘नागरिकले चाहे जस्तो नेता र नेतृत्व दिन कांग्रेस किन चुकेको होला ? स्थानिय कार्यकर्तालाई प्रवद्र्धन गर्न नेपाली कांग्रेस किन अनुदार देखिएको, जनजीविकाको सवालमा नेपाली कांग्रेसले निर्माण गर्ने खाका कस्तो हुनुपर्छ भन्ने आम सवालमा अब नेपाली कांग्रेस भित्र वृहत बहस जरुरी छ भन्ने महसुस गरेर यो अभियानको थालनी गरिएको हो ।’
अवधारणामा भनिएको छ ‘देशमा नेपाली कांग्रेस सहितको सरकार छ । सात प्रदेश र स्थानीय तहमा कुनै न कुनै रुपमा नेपाली काग्रेसको उपस्थिती छ नागरिकले गणतन्त्रको अनुभूति गर्न पाइरहेका छैनन् । संविधानको प्रतिफल आम नागरिकसम्म पुग्न सकेको छैन । तीनै तहको सरकार रणनीति र कार्यनीतिमा चुकीरहेको छ । यसलाई सुधार गर्न नेपाली काङ्ग्रेसले अब अर्को मौका छैन भनेर हस्तक्षेपकारी रुपमा काम गर्नु आवश्यक छ ।’
शैली बदल्न आवश्यक :संयोजक प्रधान
अभियानले नेताका दास कार्यकर्ताको ठाउँमा सामुहिक निर्णयमा विश्वास गर्ने कार्यकर्ता निर्माणमा जोड दिने नेता बरालले बताए । अभियानले मुलुकमा विद्यमान एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिष्ट धार, परम्परावादी राजावादी दक्षिणपन्थी विचार, जातीय अतिवाद र क्षेत्रीय अतिवाद र नबोदित आधुनीक, प्रगतीशिल धारले काङ्ग्रेसलाई चुनौती र अवसर दुबै थपेको भन्दै पुरानो दल भएर पनि जनताको भावना समेटेर जनता समक्ष फर्कने कार्यदिशा अव नेपाली काङ्ग्रेसले निर्माण नगरे कार्यकर्ता पलायन हुने र लोकतन्त्रको जग समेत संकटमा पर्ने अवस्था आएको उल्लेख गरेको छ । अभियानका संयोजक भिष्म प्रधानले भने ‘यो अवस्थामा गाउँ देखि केन्द्र सम्मको नेतृत्वले परम्परागत कार्यशैली परिवर्तन गर्नु आवश्यक छ ।’
‘अभियानले विधिको बाटोमा हिड्ने नेतृत्वको खोजी गर्छ’ : नेता बराल
पुर्वी इलामबाट शुरु भएको अभियानले विधिकोबाटोमा हिड्ने रचनात्मक र चरित्रवान नेताको खोजी गर्ने नेपाली काङ्ग्रेका जिल्ला सदस्य तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले बताए ।
उनले अभियानले पार्टीको संबै संरचनालाई गतिशिल बनाउन साथ दिने समेत बरालले बताए । अभियानको अवधारणा पत्रमा भनिएको छ ‘तथ्यहिन अभिव्यक्ति र लान्छानाको राजनीति त्यागेर पहिले कांग्रेस सुधार्ने अनि नागरिकको जीवन स्तर सुधार्ने मार्गमा नेपाली कांग्रेसले ठोस काम थाल्नु आवश्यक छ । यसका लागि विधिको बाटोमा यात्रा गर्ने, रचनात्मक र चरित्रवान नेतृत्व आवश्यक छ ।’
आगामी अधिवेशनका लागि समेत यस्तो नेतृत्व निर्माणमा नेपाली कांग्रेसले काम थाल्नु आवश्यक रहेको नेपाली काङ्ग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि धुर्व राईले बताए । उनले अभियान ढिलो आएपनि यसले गतिशिल काग्रेस निमार्णमा सहयोग गर्ने बताए ।
महाधिवेशन प्रतिनिधि जंग गुरुङले यो रुपान्तरण, एकता र सुद्धिकरणको अभियान भएको बताए । इलाम क्षेत्र न १ का क्षेत्रीय सचिव राजकुमार सेरेङले अभियानले काङ्ग्रेस भित्रको अन्तरविरोधलाई अन्त्य गर्न र पार्टीलाई विधिमा हिडाउन सहयोग गर्ने बताए ।
काग्रेस नेता सच्चिदानन्द पौड्लले इलाम सदरमुकामले इलाम क्षेत्र न १ का नेता कार्यकर्तालाई दोस्रो दर्जामा राखेर व्यवहार गर्ने गरेको भन्दै अभियानमा सबै एक ढिक्का भएर लाग्न आग्रह गरे ।
अभियानको अवधारणा पत्रमा भनिएको छ ‘इलाम जिल्ला निर्वाचन क्षेत्र न १ बाट शुरु भएको अभियान कालान्तरमा नेपाली कांग्रेसको दिर्घकालिन मार्गचित्र बन्नेमा हामी आशाबादी छौ ।’
अभियानले स्वार्थ समूहका अगुवाको कृयाकलापमा हस्तक्षेप गर्ने
अभियानका लागि प्रस्ताव गरिएका चौध बुंदामा स्वार्थ समूहका अगुवाहरुको अमर्यादित कृयाकलापमा हस्तक्षेप गर्ने उल्लेख छ ।
अवधारणा पत्रमा भनिएको छ ‘इलाम जिल्लाको हकमा स्वार्थ समूहका नाईकेहरुको हाल देखा परेको भद्धा र असहिष्णु व्यवहार, लान्छना र अमर्यादित भाषण बाजी नियन्त्रणका लागि हस्तक्षेपकारी र प्रत्यक्ष रुपमा प्रतिरोधात्मक नीति लिइने छ ।’
अभियानका क्रममा बहस गरिने बुंदा यस्ता छन् :
१. स्थानिय, योग्य र रुपान्तरित नेतृत्वलाई प्रोत्साहन ।
२.जनताका पक्षमा कार्यक्रम निर्माण र कार्यान्वायन ।
३ पार्टीभित्र कार्यकर्ता हैन, स्वाधिन रोलमोडल निर्माण ।
४ समयनुकुल नीति निर्माणमा तहगत संरचनासंग सहकार्य ।
५. संरचनागत सुधारका लागि सबै संरचनामा बहस र कार्यान्वायनमा सहकार्य ।
६. भातृ संस्थाहरुको पूर्नजीवनका लागि विधान कार्यान्वायनका लागि दवाव सिर्जना ।
७. क्षमतावानलाई प्रोत्साहन ।
८. भ्रष्टाचारमुक्त राजनीति र सुशासन
९. उद्यमशील पार्टी सदस्य निर्माणका लागि बहस
१०.व्यक्ति वा गुटकेन्द्रीत राजनीतिको अन्त्य
११.सबै तहमा नैतिक आचरणको निर्माण
१२ साजाजिक मुद्धाहरुमा निरन्तर खबरदारी अभियानका सदस्यको जिम्मेवारी रहने छ ।
१३ पार्टी भित्रको बैचारीक बहसलाई प्रभावकारी र जीवन्त बनाइने छ ।
अभियानले के गर्दैन ?
अभियानले आफ्ना कार्यक्रमहरुलाई भड्कीलो नबनाउने उल्लेख गरेको छ । अभियानले नगर्ने चार कुरा यस्ता छन् ः
१ हामी सबै तहका पार्टी सदस्यसंग संवाद गर्दछौ तर भड्कीला र महंगा कार्यक्रम गर्दैनौ ।
२ हामी कसैप्रति विष वमन गर्दैनौ तर आफ्नो कुरा प्रष्ट राख्दछौ ।
३ हामी पार्टी सदस्यको दुखमा एकाकार हुन्छौ तर श्रद्धाञ्जली सभालाई भोजको रुपमा विकास हुन दिदैनौ ।
४ यो अभियान पार्टीका स्थानिय संरचनालाई दह्रो बनाउन हो, विभाजित गर्न हैन ।
प्रतिक्रिया