बोलेरो जिप र बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छ । रासस