logo
  • २०८१ कार्तिक २८ | Wed, 13 Nov 2024
  • शैक्षिक अवस्था सुधार्न आमचोकमा पुराण

    शैक्षिक अवस्था सुधार्न आमचोकमा पुराण

    आमचोक । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका वडा नं. ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले महायज्ञ सुरु भएको छ ।

    विद्यालयको आयोजनामा सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मंगलवार जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गरे । महायज्ञको उद्घाटन गर्दै प्रमुख बरालले जिल्लाकै पुरानो विद्यालयले आफ्नो समग्र शैक्षिक सुधारका लागि थालेको प्रयासले यस क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले कृषिलाई व्यवसायीकरण र औद्योगिकरण गर्नुपर्नेमा जोड दिए । यो क्षेत्र सन्त ज्ञानदिलदासको जन्मस्थान भएको क्षेत्र भएकाले पर्यटकीय क्षेत्रको पनि निक्कै सम्भावना रहेको उनले बताए ।

    कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले अनेकतामा एकता जस्तै पुराणले सबैमा शान्ति, एकता र भाईचाराको सम्वन्ध कायम हुनेमा आफू विश्वस्त हुने विचार व्यक्त गरिन् । धार्मिक सहिष्णुता कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    विद्यालयको भौतिक सुधार, प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालयले पुराण आयोजना गरेको हो । विद्यालयलाई जग्गा दान गर्नुहुने स्वर्गीय रंगलाल र शारदा सुवेदीको स्मृतिमा सुवेदी परिवारले विद्यालय प्रवेश गर्ने ठाउँमा प्रवेशद्धारको निर्माण गरिदिएका छन् । उक्त प्रवेशद्धारको समेत विधिवत रुपमा प्रमुख अतिथि बरालले अनावरण गरे ।

    पुराण आयोजक समितिका अध्यक्ष अनिरुद्र लामिछाने अध्यक्षता तथा विद्यालयका शिक्षक दिपेन्द्र पराजुलीले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानी, प्रधानाध्यापक मोतिखर पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    भागवत रस मर्मज्ञ आचार्य युवा पण्डित लोमश शरण उपाध्याय (घिमिरे) र पणित वेदप्रसाद शास्त्रीबाट पुराण वाचन भईरहेको छ । पुराण सुरु हुनु पूर्व विद्यालयबाट कलश यात्रा समेत निकालिएको थियो । पुराण श्रवण गर्न विभिन्न स्थानबाट भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।



    Avatar निगरानी    
  • २०७६ माघ २२, बुधबार १५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP