‘सधै सम्झने नेता बन्न विपी जस्तै कर्म गरौ’

‘सधै सम्झने नेता बन्न विपी जस्तै कर्म गरौ’

सूर्योदय : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको बारेमा करिब दुई घण्टा सम्म नेता, कार्यकर्ताको भाषण सुनेपछि नेपाली काग्रेसका परिपक्व नेता मानिने महासमिति सदस्य तोयनाथ भट्टराईले भने ‘विपीले जनमुखी काम गरेकाले नै महामानव हुनुभयो ।’
भट्टराईको सन्देश थियो ‘सधै सम्झने खालको नेता बन्नका लागि विपीको जस्तो कर्मगर्नु पर्छ ।’ ४० औ विपी स्मृती दिवसको अवसर पारेर इलामको सूर्योदयमा नेपाली काग्रेस नगर कार्यसमितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचीत जनप्रतिनिधिलाई शुभकामना तथा प्रथम स्थानीय तह निर्वाचनमा कार्यकाल पुरा गरेका जनप्रतिनिहरुलाई धन्यवाद ज्ञापनगर्ने कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आन्तरीक झै झगडाबाट नेपाली कांग्रेसको लक्ष पुरा नहुने भन्दै एक भएर विपीको पदचापमा अघि बढ्नु पर्ने बताए । उनले केहि स्थानीय तहमा भएको नेपाली कांग्रेसको विजयको उदहारण दिदै भने ‘एकता भयो भने हाम्रो जित निश्चत छ ।’
संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य टिकाराम सुब्बाले विपीको आदर्श मञ्चमा भाषण गरेर पुरा नहुने भन्दै उनको आदर्शमा हिड्न सबै तयार हुनुपर्ने बताए । उनले पार्टीले पनि जनभावना अनुसार अघि बढ्नु पर्ने बताए ।
नेपाली कांग्रेसका नेता दिपक अधिकारीले कांग्रेसले विपीलाई कहिले अति नजिक, कहिले अती पर राखेर हिडेको बताए । उनले गठबन्धनको नाममा पार्टी सदस्यलाई दास बनाएको भन्दै पार्टीको यस्तो नीतिले कांग्रेसलाई अधोगतीमा लैजाने बताए ।
महासमिति सदस्य तथा नेपाल महिला संघकी क्षेत्रीय सभापति बन्दना अधिकारीले स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिहरुले पार्टी विर्सन थालेको भन्दै यसले पार्टीलाई क्षती गर्ने बताइन् । उनले पार्टीलाई विधान अनुसार सञ्चालन गर्न नेतृत्वले भुमिका खेल्नु पर्ने सुझाव दिइन् ।
नेपाली कांग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति समशेर राईले सरकारको नीति कार्यक्रम विपीले परिकल्पना गरेको बाटोमा हुनुपर्ने बताए । उनले भने ‘स्थानीय सरकारका प्रतिनिधिले विपीले कल्पना गरेको बाटोमा नीति कार्यक्रम बनाउनु जरुरी छ ।’ सभापति राईले नेपाली कांग्रेसका नेता, कार्यकर्ताका कतिपय जिज्ञासा समाधानका लागि यही महिना भित्रमा क्षेत्रीय स्तरको विशेष कार्यक्रम आयोजना गर्ने बताए ।
कार्यक्रममा महासमिति सदस्य भुपेन्द्र कट्टेल, जिल्ला सदस्य हेम कट्टेल, नेपाली कांगे्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का सभापति निश्कल राई, सूर्योदय नगरपालिका ८ का वडाअध्यक्ष जंग गुरुङ, वाड न १४ का पुर्व वडाअध्यक्ष नर बहादुर सुवेदी, वाड न १४ का नेपाली कांग्रेसका सभापति गोपाल लुइटेल, नेपाली काग्रेस सूर्योदय नगर उपसभापति रमेश प्रधानले कांग्रेसमा दह्रो एकता आवश्यक रहेको बताए ।
नगर सभापति जिवन कुमार नेपालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगर उपसभापति निर्मला अग्रवालले गरेकी थिइन् । सभापति नेपालले नगरकार्य समिति प्रभावकारी रुपमा पार्टी परिचालनका लागि तयार रहेको भन्दै पार्टीका गतिविधिमा प्रभावकारी रुपमा सहयोग गर्न आव्हान गरे ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता विश्वेश्वरप्रसाद कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।
वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ–मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् । उनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् । विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो । कांग्रेसका नेता कार्यकर्तालाई विपी कोईरालाको आदर्शलाई बिर्सेको आरोप लाग्ने गरेको छ । क्षेत्रीय सभापति समसेर राईका कानुसार इलाम क्षेत्र न १ का सबै स्थानीय तहमा शुक्रबार विपी स्मृती कार्यक्रम सम्पन्न भएका छन् ।