तिजको अवसरमा सम्मान  र उपहार

तिजको अवसरमा सम्मान  र उपहार

राजिप न्यौपाने

इलामः भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभरका पूजा आराधना सहित मनाइयो । 

इलाममा हरित नगर महिला समूहले समाजमा योगदान गर्ने दुई जना अगुवा महिलाहरूलाई सम्मान र २० जना श्रमजीवी महिलालाई उपहार सहित तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

इलाम सदरमुकामको लाकुरी चौतारोमा आयोजना गरेको कार्यक्रममा समाजको विविध क्षेत्रमा निरन्तर योगदान गरे वापत  टिका घिमिरे र आशा तामाङ्गलाई सम्मान गरेको समूहकी अध्यक्ष रिना घिमिरेले जानकारी दिइन् ।

कार्यक्रममा २० जना श्रमिक महिलालाई बस्त्र उपहार प्रदान गरिएको थियो । समूहले प्रत्येक बर्ष सम्मान र उपहार अर्पणको कार्यक्रम गर्दै आएको अध्यक्ष घिमिरेले बताइन् । समूहले गत बर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्ने चन्दा कार्की, सुमित्रा घिमिरे र सुनिता बस्नेतलाई सम्मान गरेको थियो ।

समूहले जिल्लाका विभिन्न स्थानमा सरसफाइ लगायतका सामाजिक काम गर्दै आएको छ । 

उल्लाससंगै समाजमा योगदान गर्ने महिलाहरूलाई सम्झने अवसरको रूपमा तिज विशेष कार्यक्रम आयोजना गर्दै आएको घिमिरेले जानकारी दिईन् । 

कार्यक्रममा गित संगीत, संगिनी, डाडीया नृत्य सहित बिभिन्न खेलहरु, ज्ञान मञ्च र स्थानीय डान्स सेन्टरको प्रस्तुति रहेको थियोे ।

इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल लगायतको उपस्थिति थियो  । कार्यक्रम अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियोे  । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।   

विभिन्न मन्दिर परिसरमा सोमबार महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति छ। सोमबार बिहानैदेखि मन्दिर वरपर महिलाहरू नाचगान र पूजापाठसहित तीज मनाएका थिए । 

इलामको सूर्योदय नगरपालिकामा पनि नगरपालिकाको आयोजनामा फिक्कल बजारमा नाचगान सहितको कार्यक्रम सम्पन्न भएको छ ।