logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • इलाम-२ : धमाधम उम्मेदवार घोषणा गर्दै दलहरू, कांग्रेस अझै अलमलमा

    इलाम-२ : धमाधम उम्मेदवार घोषणा गर्दै दलहरू, कांग्रेस अझै अलमलमा

    इलाम : वैशाख १५ गते इलाम-२ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उम्मेदवारी घोषणा गरेको छ। यसअघि नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले उम्मेदवार घोषणा गरेर प्रचार सुरु गरे पनि मुख्य प्रतिस्पर्धी ठानिएको नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। 
    कांग्रेसको क्षेत्र, जिल्ला, प्रदेश समितिले समेत नाम सिफारीस गरेर पठाएको हप्ता दिन वितिसक्दा समेत केन्द्रले उम्मेदवार घोषणा गर्न नसकेको हो। प्रतिद्वन्द्वीहरू कडा रस्साकसीका कारण उम्मेदवार टुंगिन नसकेको कांग्रेस नेताहरूले बताउँदै आएका छन्। कांग्रेसको इलाम जिल्ला कार्यसमितिले भेषराज आचार्य, केशब थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। ‘जंघार तर्न तिघ्रा कमाउने कांग्रेसको चालकै कारण त्यस क्षेत्रमा कांग्रेसले पटक-पटक हार व्यहोर्नु परेको हो,’ कांग्रेसका एक नेता आरोप लगाउँछन्। 

    यता राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार उम्मेदवार घोषणा गरेको छ। रास्वपाका सभापति रबि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन्। गृहमन्त्रीसमेत रहेका लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए। 
    उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे। इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर ३ की सांसद तोषिमा कार्की, उपाध्यक्ष स्वर्णिम वाग्लेलगायत सहभागी थिए। 

    गत भदौ २६ गते एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागी इलाम-२ मा चहलपहल सुरु भएको छ। 
    एकाएक चर्चामा आएका नेम्वाङ पुत्र सुहाङ नेम्वाङलाई एमालले उम्मेदवार बनाएपछि चुनावी सरगमी बढेको हो। 
     
    त्यस्तै माओवादी कोशी प्रदेश समितिले चार जना आकांक्षीको नाम सिफारीस गरेको छ।  प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) पार्टीको तर्फबाट धिरेन्द्र शर्मा तिम्सिना (रमण), उर्मीला तामाङ (चन्दा), ओम बहादुर गुरुङ (सौरभ) र कुमार बराइली (अनिल) को नाम केन्द्रमा सिफारिस गरेर पठाएको जानकारी दिए। 
    यता नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ भने प्रेमदिप लिम्बू, डकेन्द्रसिंह थेगिम र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। चैत २४ गते उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचन आयोग काम गरिरहेको छ।



    निगरानी    
  • २०८० चैत्र १८, आईतवार ००:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP