सूर्योदय: इलामको सूर्योदय नगरपालिकाका ६ वटा वडालाई समेटेर निर्माण गर्न लागिएको चियावारी पदमार्गको प्रारभ्भिक सर्भे शुरु भएको छ ।
आइतबार सूर्योदय नगरपालिका ७ कन्यामबाट शुरु भएको सर्भेका क्रममा वडा न ८ को शान्तिचोक मानेडाँडा स्थित निर्माणधिन सिसाको पुल हुँदै फिक्कलको लाप्चा गुम्बा, कजेनी, श्रीअन्तु र समाल्बुङलाई जोड्ने मार्ग निर्माणका लागि सर्वेक्षण शुरु भएको हो ।
चियाबारीको दृष्य अवलोकन गर्दै यात्रा गर्न सकिने करिब २५ किलो मिटर लामो पदमार्गले सूर्योदयको वाड न ४,५,७,८,९,१० वडा समेट्ने जनाइएको छ ।
चियाबारी पदमार्ग’ (टी ट्रेल ) निर्माणका लागि स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारको ४५ प्रतिशत लगानी गर्ने बताइएको छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत ग्रामीण पर्यटन विकासमा सहयोग गर्ने सूर्योदय नगरपालिका ७ का वडाध्यक्ष लोकबहादुर राईले बताए । वाड न ८ का वडा अध्यक्ष जंग बहादुर गुरुङले पद मार्गले ग्रामीण क्षेत्रका नागरिकलाई आयआर्जनसंग जोड्ने अपेक्षा लिएको बताए ।
स्विस सरकार र नेपाल सरकारबिच भएको सम्झौता अनुसार सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने छ । जस अन्तर्गत कोशी प्रदेशका चार वटा स्थानमा चार सय किलोमिटर पदमार्ग निर्माण गरिने छ । कोशी प्रदेश अन्तर्गत २९ वटा पालिकाहरूले यस परियोजनामा सहभागिता जनाएका छ । स्वीजरल्याण्ड सरकारको ५५ प्रतिशत, सङ्घीय सरकारको ८ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत र स्थानीय सरकारको १८ प्रतिशत साझेदारी रहेको परियोजनाले स्थानीय उत्पादन, कला, संस्कृतीलाई समेत समेट्ने जनाइएको छ । चियाबारी पदमार्ग सम्पन्न गर्नका लागि स्विस सरकार र तीन तहका सरकारको गरी आर्थिक वर्ष २०८१÷८२ मा २३ लाख रुपियाँ रकम विनियोजन भएको जनाइएको छ ।
हेल्भेटास कार्यक्रमका टुरिजम कोअडिनेटर प्रनिल उपाध्याय नेपालका अनुसार परियोजनाले स्थानिय स्रोतसाधनको प्रयोग गरेर पदमार्ग निर्माण गर्ने छ । परियोजना अन्तरगत चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग , लालीगुराँस पदमार्ग र मुन्धुम पदमार्ग छन् ।
पदमार्गले छोएका क्षेत्रमा पर्यटन पार्क, फलैँचा, होमस्टे, शौचालय आदि सञ्चालन गरिने उनले जानकारी दिए । चार वटा पदमार्ग निर्माण गर्दा ११ करोड २५ लाख रुपियाँ खर्च हुने जनाइएको छ । यी पदमार्ग सञ्चालनमा आउँदा थप ८० वटा होमस्टे सञ्चालनमा आउने परियोजनाले जनाएको छ ।
चिया पदमार्ग क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिकामा कन्याम, फिक्कल श्रीअन्तु समेटिएको छ । फाल्गुनन्द पदमार्ग अन्तर्गत फिदिम लत्रेकुटी, सिलौटी, पौवा भन्ज्याङ, लोहाकिल, विखे छिन्तापु, गुरुवाले, सन्दकपुर, माईपोखरी समेटिएको छ । लाली गुराँस पदमार्ग क्षेत्र अन्तर्गत तुम्लिङ्गटार, खाँदबारी, नुम गुफा पोखरी, वसन्तपुर जलजले , तिनजुरे, मिल्के समेटिएको छ । मुन्धुम पदमार्ग अन्तर्गत क्षेत्रमा कोशी टप्पु मैनामैनी, शङ्खमचुली, हतुवागडी, आमचोक, थामडाँडा, तावाभञ्ज्याङ, टेम्केडाँडा, चखेवा दलसिङ्गे, धोत्रे जलजले, हाँसपोखरी, मैयुङ डाँडा, ह्यकुले रावाधाप, साल्पापोखरी, सिलिचुङ पिक रहनेछ ।
प्रतिक्रिया