हालसालै काठमाडौँको डल्लुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो । उक्त घटनामा संलग्न रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुल्यो ।
उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ ।
अर्को अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत गरे ।
पीडितहरुको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताए । उनीमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ ।
यसअघि सार्वजनिक बसमा एक युवतीको पछाडि बसेर अश्लील हर्कत गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यी प्रतिनिधि घटना हुन् । महानगरीय प्रहरी परिसरले दिएको जानकारीअनुसार सार्वजनिक यातायातमा महिलामा टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने, महिलाको शौचालयमा छिरेर आनन्द लिनेजस्ता घटनासमेत भएका छन् ।
प्रतिक्रिया