इलाम ,माघ २६ ।
इलाममा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा दोसा्रेपटक परिक्षण उडान भएको छ । नेपाल वायुसेवा निगमको टिवन अट्टर विमानले बुधवार सफल परिक्षण उडान गरेको छ । काठमाडौंबाट ९ बजेर ५ मिनेटमा उडान भरेको विमानले इलाममा १० बजेर २ मिनेटमा अवतरण गरेको निगमले विज्ञप्ति मार्फत जनाएको छ । परिक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाको सम्पुर्ण सिफारिसर अवलम्बन गर्ने गरी नियमित उडान संचालनको तयारीको प्रकृया अघि बढाइने जनाइएको छ । कालोपत्रे भएपछि विमानस्थलमा पहिलो पटक विमान उडान–अवतरण गरिएको हो । यस अघि धावनमार्ग कालोपत्रे नभई २०७५ जेठ २१ मा परिक्षण उडान गरिएको थियो । ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिएको छ ।
आगामी फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गर्न इलाम नगरपालिकाले तारा एयर प्रालि सँग सम्झौता गरी सकेको छ । प्रत्येक हप्ता एकपटक उडान भर्ने गरी साताको आइतबार उडान–अवतरण हुने भएको छ ।२०६७ साल चैत १३ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यस गर्नु भएको थियो । निमार्ण थालिएको लामो समय पछि उडान हुने निश्चय भएपछि इलामबासी हर्षित भएका छन । नियमित उडान भएमा पुर्वी पहाडको इलाम ,पाँचथर ,ताप्लेजुङ सहित दार्जिलिङ्ग बासीलाई सहज हुने अपेक्षा गरिएको छ । विमानस्थल संचालनमा आए इलामको पर्यटनमा समेत टेवा पुग्ने सरोकारवाला बताउछन ।
प्रतिक्रिया