तोयानाथ भट्टराई
इलाम : इलाम जिल्लाका बारेमा जानकारी हुनेहरूलाई पूर्वका करफोक, कन्याम, फिक्कल, पशुपतिनगर नसुन्ने कुरै भएन। तर, त्यही छेउमा तन्किएको ऐतिहासिक खलंगा र त्यससँग जोडिएको झ्याम्टे मेलाको नाता भने नसुनेको हुनसक्छ।
इतिहास जित्नेहरूको लेखिन्छ भन्ने गरिन्छ। सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाको इतिहास पनि इतिहासले लिपिबद्ध गर्न छुटाएको छ।
जति बेला इलाम ‘इलाम’ थिएन। कुरा दुई सय ६ वर्ष अघिको हो। भारतसँग सिमाना जोडिएको इलामलाई अहिलेको अवस्था र भूगोलमा जोगाउन पनि जोखिम थियो। भूगोल मात्रै होइन, कला, संस्कृति र साहित्यको रक्षामा समेत चुनौती थियो, त्यसबेला। इलाममा सामरिक रुपमा समेत सुरक्षाका लागि प्रशासनिक अड्डा राख्ने थलोको खोजी हुँदै थियो। १३ सय मिटरको उचाइमा रहेको सामरिक दृष्टिले समेत सहज देखिने पूर्णे डाँडामा पहिलो पटक प्रशासनिक अड्डा राख्ने व्यवस्था भयो। सुगौली सन्धिपछि वि.स. १८७५ मा इलामको सूर्योेदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सार्नु दुई वर्ष अघिको प्रशासनिक अड्डा हो पूर्णे डाँडा।
प्रशासनिक अड्डाका इटालगायतका भग्नावशेषहरू अहिले पनि त्यहाँ पाइन्छन्। अड्डाका कलात्मक ढोकाहरू अहिले पनि गाउँघरमा पाइने गरेको स्थानीय दीपक अधिकारी बताउँछन्। ई.स १८१६ अघि सिक्किम–दार्जिलिङ गोर्खा राज्य छँदा यस जिल्लाको सदरमुकाम दार्जिलिङ जिल्लाको नागरी भन्ने ठाउँमा थियो। सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धीले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडा हाकिम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पूर्णे डाँडामा सारेको अनुसन्धानकर्ता नरेन्द्रनाथ बाँस्तोलाले पूर्वाञ्चलमा सात सालको क्रान्ति नामक पुस्तकमा उल्लेख गरेका छन्। त्यसबेला तमोर नदी पूर्व लिम्बूवान करफोकबाट हेरिन्यो। तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरिएको थियो।
करफोक इलाम जिल्लाको पूर्वमा पर्ने भएकाले तत्कालीन प्रशासकले यसलाई सामरिक रुपमा उपयुक्त ठानेनन्। दार्जिलिङको नजिक भएकाले पनि यो ठाउँ उपयुक्त नभएको भन्दै काजी हेमदल थापाले सन् १८२९ मा पूर्णे डाँडामा रहेको खलंगा (हालको इलाम सदरमुकाम) सारेको बास्तोलाको पुस्तकमा उल्लेख छ। यस बिचमा केही समय नाम्सालिङमा पनि खलंगा रहेको इतिहास पाइन्छ।
जतिबेला खलंगा पूर्णे डाँडामा बस्यो। त्यहाँ बडा हाकिम थिए। सुरक्षा दस्ता थियो। यस क्षेत्रमा राईहरूको सघन बसोबास थियो। मनोरञ्जनका लागि बडा हाकिमलाई विभिन्न जातजातिको संस्कृति देखाउने क्रममा राई जातिको साँस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टासहित सहभागी हुने राईहरूको नृत्य धेरैले मन पराएका थिए। यसले झ्याम्टे मेलाको रुप लिएको स्थानीय दीपक अधिकारीको तर्क छ।
अहिले पनि प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन झ्याम्टे मेला लाग्ने गरेको छ। स्थानीय वृद्धा कमलबहादुर राईका अनुसार जुन समय मान्छेसँग रमाइलोका साधन थिएनन्। जमघट हुने बहानाहरू थिएनन्, त्यसबेला पर्व, मेला नै रमाइलो गर्ने स्थलहरू हुने गर्दथे। भेटघाट हुने, कुराकानी हुने ठाउँका रुपमा मेला पर्वहरूको आयोजना हुने गरेका थिए। पछिल्लो समय तिनै मेलाहरू जाति विशेषको पहिचानको आधार समेत बन्ने गरेका छन्।
झ्याम्टे मेला खलंगाको आसपासमा फैलिएको करिब १३ रोपनी जमिनमा लाग्ने गर्दछ। ‘हाम्रो हजुरबा पुस्ताले पनि झ्याम्टे मेलाको चर्चा गर्नुहुन्थ्यो’, कमलबहादुर राईले भने। खलंगाको जन्मसँगै मेलाको उत्पति जोडिएको स्थानीयको दाबी छ। मेलामा साकेला नाच्ने चलन अहिले पनि छ। राईका अनुसार पहिले साकेला नाचबाटै मन परेकी तरुनी तानेर लैजाने र श्रीमती बनाउने चलन नै थियो। ‘नाचेरै ल्याएका जोडी अहिले पनि केही छन्’, उनी भन्छन्।
राई संस्कृतिसँग जोडिएको पूर्णे डाँडाको मेला माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वपछि रोकिएको थियो। करिब २५ वर्षसम्म त्यस स्थानमा मेला लाग्न सकेन। पछिल्लो समय स्थानीयको पहलमा गत वर्षदेखि मेला सुरु गरेको स्थानीय युवा अनुप मेवाहाङ राई बताउँछन्। पूर्णे डाँडाको संरक्षण र प्रचारमा प्रयास गरिरहेका मेवाहाङले झ्याम्टे मेला र खलंगाबारे धेरै कुरा थाहा नभए पनि स्थानीय युवाहरू राई संस्कृति संरक्षणसँगै ऐतिहासिक सम्पदा संरक्षणमा जुटेको बताउँछन्।
सूर्योदय नगरपालिका–११ का वडा अध्यक्ष सन्तोष राईले सम्पदाका रुपमा रहेको पूर्णे डाँडा, खलंगाको इतिहास र झ्याम्टे मेलालाई उजागर गर्ने गरी काम गर्ने योजना रहेको बताए। ‘वडाको बजेटले मात्र केही हुँदैन। हामी दाताको सहयोग खोज्दैछौं’, उनले भने।
पूर्णे डाँडाले इतिहास मात्रै बोकेको छैन, यसले पर्यटकलाई लोभ्याउने सुन्दरता समेत बोकेको छ। यहाँबाट इलामका वरिपरिका पहाडी दृश्यदेखि तराईका फाँट र सर्पजस्तै बनेर बगिरहेका खोलाहरूको मनोरम दृश्य हेर्ने अवसर मिल्दछ।
महाभारत र शिवालिक पर्वत शृंखलाको पूर्व–दक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलामको पूर्वमा रहेको पूर्णेडाँडा प्राकृतिक दृष्टिले रमणीय छ। चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखर तथा प्राकृतिक सुन्दरताको स्वाद लिन पूर्णे डाँडा एक पटक पुग्नै पर्ने ठाउँ रहेको वडाअध्यक्ष राई बताउँछन्। प्रकृतिको वरदानका रुपमा रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा जमिनसमेत खाली नरहने भएकाले वरिपरिको आइतबारे, सुन्तले, माघे, केराबारी, कालापानी, करफोक क्षेत्रका घरहरूलाई समेटेर कृषि र साँस्कृतिक पर्यटकीय क्षेत्रका विकास गर्न सकिने युवा कृषि उद्यमी उमेश पौड्याल बताउँछन्। ‘विदेशीलाई मनपर्ने सबैकुरा हामीसँग छ। पूर्णे डाँडामा सम्पदा छ। जातजातिको सँस्कृती छ। कृषिमा जिल्लाकै राम्रा फर्महरू र पशुपालन छ। योजना र प्रचारको अभावले हामी पछि परेका छौं’, वडा अध्यक्ष राईले भने। अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया