इलाम– उच्च अदालत विराटनगर इलाम इजलाशले नेपाली कांग्रेस इलाम जिल्ला समिति कोषाध्यक्षको मनोनयनप्रति कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश किरणकुमार पोख्रेलको इजलाशले आज (आइतबार) कांग्रेस जिल्ला समिति र सभापति डम्बर खड्कालाई कोषाध्यक्ष मनोनयनप्रति कारण देखाउ आदेश जारी गरेको हो ।
पुस १६ मा सभापति खड्काले कोषाध्यक्षमा होम बस्नेतलाई मनोनयन गरेका थिए । कोषाध्यक्ष मनोनयन गर्दा सभापतिले जिल्ला समितिमा प्रस्ताव नै नगरी विधानविपरीत मनोनयन गरेको भन्दै उच्च अदालतमा ‘उत्प्रेषण परमादेश, जो चाहिने आदेश’ माग गर्दै निवेदन परेको थियो ।
इलामकै सूर्याेदय नगरपालिका–१३ का हेमप्रसाद कट्टेल र सूर्याेदय ७ का छत्रबहादुर घलेले कांग्रेस जिल्ला समिति, सभापति खड्का र कोषाध्यक्ष बस्नेतलाई विपक्षी बनाइ निवेदन दर्ता गराएका थिए ।
आज भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय जसबहादुर लुंगेली र हिरण्य अधिकारी तथा अधिवक्ता लोकबहादुर तामाङले बहस गरेका थिए ।
कांग्रेसको विधानमा जिल्ला सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट कोषाध्यक्ष निर्वाचित गर्ने व्यवस्था रहेको निवेदनमा दाबी गरिएको छ । ।
अदालतको आदेशअनुसार कांग्रेस जिल्ला समिति र सभापतिले १५ दिनभित्र आफ्नो जबाफ अदालतमा पठाउनुपर्नेछ ।
प्रतिक्रिया