इलाम माघ २९ : नयाँ वर्ष २०८२ सालदेखि मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउने भएको छ ।श्री कृष्ण प्रमाणी मन्दिर मुक्तिधामको ४६ औं वार्षिक उत्सवकै सन्दर्भमा नयाँ अस्पताल सुरू गर्न लागिएको छ । कार्यक्रमको प्रचारप्रसारको लागि टोली सोमबार इलाम आइपुगेको छ । आगामी मिति २०८१ चैत २४ देखि बैशाख १ गते सम्म सुनसरीको इटहरी स्थित मुक्तिधाम मन्दिरमा आयोजना हुन लागेको मंगल राधिका सदानन्द प्रणामी अस्पताल समुद्घाट्न तथा श्री १०८ पारायण अन्तरास्ट्रिय महोत्सवको निमन्त्रणाको लागि मुक्तिधाम इटहरीका गादीपती कृष्णदासजी महाराजको नेतृत्वमा इलाम आएको जनाइएको छ । चैत २४ गतेदेखि सप्ताहव्यापी श्रीमद्भागवतसँगै स्वास्थ्य शिविर संचालन हुने प्रचारप्रसार संयोजक दुर्गा थपलियाले बताउनु भएको छ ।
प्रचारप्रसारको क्रममा इलाम नगरपालिका ७ कुलधारामा अन्तर्किया गरिएको श्री कृष्ण प्रणामी युवा परिषद इलामका सचिव दिपेन्द्र आचार्यले बताउनु भयो । कार्यक्रममा मुक्तिधाम इटहरीका गादीपती कृष्णदासजी महाराज ,प्रचारप्रसार संयोजक दुर्गा थपलिया , खेम तिमिल्सिना , धर्म भण्डारी , कृष्ण घिमिरे , श्री कृष्ण प्रणामी युवा परिषद कोशी प्रदेश सदस्य सविता पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
टोलीले सुर्योदय नगरपालिका १० मा रहेको मन्दिर , इलाम नगरपालिका ५ स्थित प्रणामी मन्दिरमा भेटघाट गरि प्रचारप्रसार गरेको छ ।
नेपालमा नै पहिलो प्रणामी अस्पतालको पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरिने र क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पुरयाउने लक्ष्य राखिएको छ ।
दाताकै सहयोगमा अस्पताल सञ्चालन गरिने र अस्पताल सुरु भएपछि अशक्त र असहायलाई निःशुल्क उपचार गरिने तयारी छ ।यसमा मुख्य तीन जना कृष्ण प्रणमीका अगुवा, एक जना इटहरीका उपमहानगरपालिकाका प्रमुख र अर्का एक जना जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख रहने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया