सविता पाण्डे , इलाम , माघ २६ : इलाममा ‘ प्रथम ओएसिस महिला गोल्डकप ‘ फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ३ गते देखि इलाम स्थित ठुलो टुडिखेलमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । ओएसिस क्लब इलामको आयोजनामा र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा भारतको २ सहित ८ टिमको सहभागिता रहने ओएसिस क्लबका अध्यक्ष च्याङ्ग मुखियाले बताउनु भयो ।
प्रतियोगितामा भारतको मानेभञ्ज्याङ एफसि र पटना सिटि एफसी , नव बुद्ध युथ एफसी सप्तरी , बिर्तामोड युनाइटेड झापा, पीवाईसी पाँचथर, युनाइटेड देउमाई , दिपेन्द्र शिखर एफसी र आयोजक सहभागी हुनेछन ।
गोल्डकपको विजेताले २ लाख र उपविजेताले १ लाख नगदसँगै ट्रफी मेडल पाउनेछन् । बिधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, उदयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने क्लब सचिव रोशन राईले बताउनु भयो । देशभर महिला फुटबल प्रतियोगिता न्युन मात्र भैरहेको अवस्थामा यो गोल्डकपले महिला फुटबल विकासमा योगदान दिने अपेक्षा रहेको सचिव राईले बताउनु भयो । इलाममा ४ बर्ष पछि भएको ठुलो प्रतियोगिता इलाम गोल्डकप माघ १३ गते सम्पन्न भएको छ भने महिला फुटबल नभएको दशक भैसक्यो । इलाममा २०७० सालमा लुम्बिनी कप फुटबल भएको थियो । त्यसपछि महिलाको फुटबल प्रतियोगिता भएको छैन ।
प्रतियोगिता संचालन गर्न आयोजकले दाताहरू खोजी गरि रकम जुटाईरहेको छ । कोरिया लगायतका देशमा इलामेलीहरुले रकम जुटाउन अभियान चलाइरहेका छ्न भने स्थानीय सरकार , ब्यवसायी , उधमी र फुटबलप्रेमी बाट सहयोग संकलन भैरहेको आयोजकले जनाएको छ । प्रतियोगिता निःशुल्क रुपमा हेर्न सकिने जनाइएको छ । फाइनल खेल आगामी फागुन ७ गते हुनेछ ।
प्रतिक्रिया