पवित्रहाङमा कपको तयारी

माङसेबुङ : १० औ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता २३ माघ इलामको माङसेबुङमा सञ्चालन हुने भएको छ ।

माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा सञ्चालन हुने शनिवार पत्रकार सम्मेलन गरि आयोजक आत्मा पवित्र हक्चात यक्चुमले जानकारी दिएको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता संचालन हुने यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतियोगितामा इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीका ८ टीमको सहभागीता रहने हक्चातका सचिव सरिता राईले बताइन् ।

प्रतियोगितामा एपिएससी माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एमसिसि फूटबल क्लब सूर्योदय नगरपालिका इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलामको सहभागिता रहनेछ ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् ।

अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउँनेछन् ।