अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ नारायणी नदी किनारमा महोत्सव हुदै

चितवन/अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढस्थित नारायणी नदी किनारमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ ।अपाङ्गता भएका बालबालिकाका लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ महोत्सव गर्न लागिएको हो । संस्थाका व्यवस्थापक रोशन राजकर्णीकारका अनुसार महोत्सवमा ३०० व्यावसायिक स्टलसहित बाल उद्यान, डुङ्गालगायतका मनोरञ्जनात्मक खेलहरु समावेश गरिनेछ ।

महोत्सवलाई थप आकर्षक बनाउनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने राजकर्णिकारले जानकारी दिनुभयो । महोत्सवलाई पूर्णरूपमा सुरक्षित बनाउनका लागि महोत्सव परिसरमा सिसी क्यामेरा जडानसहित सम्पूर्ण व्यावसायिक स्टलको बीमा गरिएको राजकर्णिकारको भनाइ छ । महोत्सवबाट रु एक करोड रकम सङ्कलन हुने र महोत्सव सञ्चालनका लागि रु ८० लाख खर्च हुने अनुमान गरिएको रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवि थापाले बताउनुभयो ।महोत्सवको दैनिक १० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । शारीरिकरूपमा अशक्त भएका २५ बालबालिका प्रतिष्ठानमा राखिएको उल्लेख गर्दै महोत्सवबाट भएको बचतबाट उनीहरुको शिक्षादीक्षामा खर्च गर्ने थापाले बताउनुभयो ।(रासस)