खेलकुद क्षेत्रमा पनि जागृति नेपालको सक्रियता,इलाममा बुद्धिचाल र टेबलटेनिस प्रतियोगिता

इलाम, मंसिर १७ । इलाम सदरमुकाममा बुधबार खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला बुद्धिचाल संघ इलामको ब्यबस्थापनमा जागृति नेपाल इलामको आयोजना तथा एसियन एकाडेमी फर पिस रिसर्च एण्ड डेभलपमेन्ट काठमाडौंको सहयोगमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा खगेन्द्र लिम्बू पहिलो, तीर्थमान राई दोस्रो र किशोर गौतमले तेस्रो पुरस्कार हात पानुभयो । उहाँहरुलाई क्रमश १५ सय, १२ सय र ९ सय रुपैंयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरीयो । यस्तै वेष्ट इण्ड स्कूलतर्फ कौशल दुलाल, १६ बर्ष मुनिको उत्कृष्टमा शुभम निरौला र बेष्ट अनरेटेड तर्फ देवी पौडेल घोषित हुनुभयो । उहाँहरुले ५÷५ सय रुपैंयाँ पुरस्कार प्राप्त गर्नुभयो । पाँचौ राउण्डसम्म प्रतिष्पर्धा भएको प्रतियोगितामा राउण्डको अन्तिम चरणमा खगेन्द्र लिम्बूले रोसन राईलाई पराजित गर्दै उपाधि जित्नु भएको हो । प्रतियोगितामा अपराजित खेलाडी पनि हुनुभयो । युवाहरुको क्षमता बृद्धिका साथै समाजमा शान्ति र सद्भाव फैलाउने गरी जागृति नेपाल इलामले बिगत पाँचबर्ष अघिदेखि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा बिजयी तथा सहभागि खेलाडीलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, एसियन एकाडेमी फर पिस रिसर्च एण्ड डेभलपमेन्ट काठमाडौंका कार्यक्रम अधिकृत प्रबेशराज जोशि, नगर खेलकुद बिकास समितिका सचिब गणेश खतिवडा, जिल्ला बुद्धिचाल संघका अध्यक्ष याम लिम्बू, संघका प्रदेश १ सचिब सुरेन्द्र राई लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो । कार्यक्रम जागृति नेपाल इलामका अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा भएको थियो ।

संस्थाले इलामनगरपालिकाको वडा नम्बर ४ र ५ लाई समेटेर शैक्षिक, खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका सचिब गोपाल पौडेलले जानकारी दिनुभयो । संस्थाले बरबोटेमा केहीदिन अघिमात्र बिद्यालय स्तरीय बक्तृत्वकला र चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो भने मंगलबार छात्र÷छात्राको टेबलटेनिस प्रतियोगिताको आयोजना गरेको थियो । जसमा छात्रतर्फ छुङछुङ श्रेष्ठ पहिलो र जेनिसा गुरुङले दोस्रो पुरस्कार प्राप्त गरे । यस्तै छात्रतर्फ प्रिन्स शेर्पाले पहिलो पुरस्कार हात पारे । उदियमान खेलाडीको रुपमा अनिता तामाङ घोषित भइन् । ८ जनाले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा पहिलो र दोस्रो हुनेले क्रमश १२ सय र ८ सय रुपैंयाँ प्राप्त गरेभने उदियमान खेलाडीले नगद ५ सय रुपैंयाँ प्राप्त गरे ।