जेठ ३, इलाम । इलामका दशै स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा बसेका ५ सय ८२ जनाको कोरोना भाइरसको रयापिड डाइग्नोष्टिक टेष्ट ( आरडिटी) गरीएको छ । हालसम्म आरडिटी गरीएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
कोरानाको शंकास्पद लागेका पाँचजनाको स्वाब संकलन पिसिआर परिक्षणका लागि धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बिराटनगरको कोशि अस्पतालमा पठाइएकोमा सबैको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । यसरी हेर्दा इलाममा हालसम्म कोरोना भाइरसको संक्रमित फेला नपरेको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताउनुभयो । यता आरडिटी परिक्षणका लागि स्वास्थ्य कार्यलयमा प्राप्त भएको ६ सय ८० थान किट मध्ये हालसम्म ५ सय ८२ थान सकिसकेको र बाँकि किट सबै पालिकामा परिक्षणका लागि उपलब्ध गराएकाले अब स्वास्थ्य कार्यालयमा किट नभएको बताइएको छ । पालिकामा किट उपलब्ध गराएकाले सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीलाई परिक्षण कसरी गर्ने सम्बन्धि तालिम दिइएकाले अब पालिकाका स्वास्थ्यकर्मीबाट आरडिटि परिक्षण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता जिल्लामा अब किट सकिएकाले प्रदेश सरकारसंग ५ हजार थान आरडिटी किट माग गरेको बताइएकोे छ । स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार कोरोनाको परिक्षण बिस्तार गर्नुपर्ने भएको हुँदा अब जिल्लामै पिसिआर परिक्षण हुन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि पनि प्रदेश सरकारसंग कोरोनाको शंकास्पद बिरामीको परिक्षण गर्नका लागि दुईहजार थान भिटिएम समेत स्वास्थ्यले माग गरेको बताउनुभयो । कोरोना भाइरसको संक्रमण नेपालमा बढिरहेको छ । यस भाइरसको मुख्य लक्षण ज्वरो भएकाले जिल्लाभरका सबै स्वास्थ्य संस्थामा ज्वरो क्लिनिक सञ्चालनमा रहेको पनि फोकल पर्सन बरालले जानकारी दिनुभयो ।