logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • इलाममा मेडिकल कलेज खोल्न पहल

    इलाममा मेडिकल कलेज खोल्न पहल

    इलाम। इलाम नगरपालिकामा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्नका लागि विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिज्ञा गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा इलामेहरुले सो प्रतिज्ञा गरेका हुन् । 

    पहिलो संविधान सभाका अध्यक्ष कुलबहादुर गुरुङको प्रमुख आतिथ्यमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायतका शीर्ष नेताहरुको उपस्थितिमा बसेको भेलाले इलाममा मेडिकल कलेज खोल्नका लागि पहल थालेका हुन् । 

    सार्वजनिक कार्यक्रममा बिरलै देखिने गुरुङले इलामका लागि सकारात्मक कदम आएको भन्दै खुशी व्यक्त गर्दै आफूले सक्दो पहल गर्ने बताएका छन् । त्यस्तै नेकपा एसका सम्मानित नेता खनालले मेडिकल कलेज निर्माणका लागि कुनै पनि दलले विरोध नगर्ने दाबी गरे । उनले इलाम प्राकृतिक स्रोत साधन र ऐतिहासिक महत्त्वको जिल्ला भएकाले पनि मेडिकल कलेजका लागि उपयुक्त जिल्ला भएको उल्लेख गरे । 

    त्यस्तै पूर्व सभामुख नेम्वाङले मेडिकल कलेज बनाएर जिल्लाको विकास गर्नमा आफ्नो दल बाधक नभएको उल्लेख गरे । उनले जिल्लाको विकास गर्ने सवालमा सबै दलबीच ऐक्यवद्धता हुनुपर्नेमा जोड दिए । 

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले पनि नगरले अघि बढाएको योजनाको प्रशंसा गरिन् । आयोजकका तर्फबाट इलाम नगरपालिका प्रमुख केदार थापाले सरकारको नीति प्रत्येक प्रदेशमा एक मेडिकल कलेज अनिवार्य भएको भन्दै प्रदेश १ मा इलाम नगरपालिकामा मेडिकल कलेज बनाउन आवश्यक भएकोमा जोड दिए ।

    उनले कार्यपत्र नै प्रस्तुत गर्दै आफूले सम्पूर्ण ध्यान मेडिकल कलेज निर्माणका लागि पहल गर्नमा लगाउने बताए । 

    कार्यक्रममा कर्णाली विश्वविद्यालयका पूर्व डिन प्राडा राजेन्द्र वाग्ले, पूर्वसचिव खेमराज नेपाल, प्राडा जनक कोइराला, मिलन गुरुङलगायतले मेयरले राखेको कार्यपत्रमा टिप्पणी राखेका थिए ।

    इलाममा मेडिकल कलेज बन्दा १० लाख भन्दा बढी (इलाम, पाँचथर, ताप्लेजुङ, झापा, तेह्रथुमसँगै भारतको दार्जलिङ र सिक्किमकासमेत) बिरामीले सेवा पाउन सक्ने भन्दै पूर्वकै सबैभन्दा ठूलाे अस्पताल इलाममा बन्नुपर्नेमा जाेड दिइयाे । 



    Avatar निगरानी संवाददाता    
  • २०७९ भाद्र ३, शुक्रबार १०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP