नयाँ बर्षको उत्सवमा लेप्चा

नयाँ बर्षको उत्सवमा लेप्चा


इलामः लोपउन्मुख लेप्चा समुदाय अहिले नामवन पर्व मनाउन व्यस्त छ । इलाममा भने आज(बुधबार) धुमधामका साथ नामवन मनाइएको छ ।
लेप्चा जातिको सबैभन्दा महत्वका साथ नामवन पर्व मनाउने गरेको लेप्चा उत्थान मञ्चकी केन्द्रिय उपाध्यक्ष रोजी लेप्चा बताउँछिन् । पुष महिनाको औंसी छेऊछाऊ यो पर्व मनाउने गरेको लेप्चाहरु बताउँछन् । इलाम जिल्लामा भएका लेप्चा जातिले सामुहिक रुपमा केही बर्ष अगाडी देखि यो लोपोन्मुख चाँड बनाउन थालेका छन् । भारतको दार्जिलिङ्ग, कालेम्पोङ्ग, सिक्किममा भने व्यापक रुपमा ७ देखि १५ दिनसम्म मनाउने परम्परा रहेको छ । नयाँ कुराको पुजा गरेर मनाइ आएको पर्वमा पछिल्लो पटक युवा पुस्ताले समेत चासो देखाउन थालेका छन् ।
लाप्चा उत्थान मञ्च इलाम नगरपालिका १० का संयोजक मनोज लाप्चाका अनुसार लाप्चा समूदायको नयाँ बर्ष नामवन सोथोङ् नाम (वाघ) बर्ग लाई विदा गर्दै आजदेखि कम्थ्योङ् नाम (चिल) बर्गमा प्रवेश गरेको दिनलाई आज पर्वका रुपमा मनाइएको हो । एक हप्ता देखि चलेको पर्वको अन्तिम दिन आज लाप्चा उत्थान मञ्चको आयोजनामा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका सहित जिल्लाका लाप्चा समूदायको बसोवास भएको स्थानमा धुमधामका साथ मनाईदै छ ।
लाप्चाहरुले पर्वको अवसरमा पुजाआजा गर्ने , रमाईलो गर्ने र एक अर्कामा शुभकामना आदानप्रदान गर्ने गरेको लेप्चा समुदायका जेष्ठ नागरिक रस बहादुर लाप्चा बताउँछन् ।
लेप्चा समुदायको अर्को एक चाँड सक्यू रम्फात हो । “सक्यू रम्फात” लाई “लि रम्फात” पनि भनिन्छ । यो नेपाली क्यालेण्डर अनुसार मंसिर, माघ र फागुन महिनामा मनाउने चलन रहेको छ । रोग व्याधि हैंजा महामारी प्राकृतिक विपत्ति, नराम्रा दुर्घटना नआओस् भनेर लङजी मनाउने उनीहरु धर्म सस्कृतीमा विशेष आस्था राख्दछन् ।
लोपोन्मुख लेप्चा इलाम, झापा, मोरङ्ग लगायत सिक्किम , दाजिृीलङ्ग, कालेबुङ्ग, भुटान आदि ठाउँमा बसोबास गर्दछन् ।
नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लेप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सूची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लेप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन् ।
लाप्चा उत्थान मञ्चको २०७५ को सर्वे अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बासोबार रहेको छ ।
लेप्चा समुदायको नयाँ बर्षको अवसरमा इलामको सूर्योदय नगरपालिका र रोङ गाउँ पालिकाले स्थानीय विदा दिएको छ ।