काठमाडौं । नेपाली कांग्रेका नेता भेषराज आचार्यले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने बताएका छन् । इलाम क्षेत्र नम्बर २ आउँदो बैशाख १५ मा उपनिर्वाचन हुँदैछ । आचार्य टिकटका आकाक्षीं हुन् ।
क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए । प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने आचार्यको भनाइ छ । काठमाडौंमा पत्रकार भेटघाट राखेर आचार्यले आफूले जित्ने आधारहरु समेत सुनाए ।
‘मेरो पक्षमा इलाम–२ का जनता छन् । एकपटक टिकट ल्याए तपाईलाई जिताछौं भन्नेहरु धेरै हुनुहुन्छ,’ आचार्यले भने ।
पार्टी नेतृत्वले टिकट दिए वडा, पालिका, प्रदेश, प्रतिनिधि सभा लगायतका पार्टी संरचनाले सम्पूर्ण रुपमा आफूलाई साथ दिने आचार्यको दाबी छ । चार दशक देखि कांग्रेसको राजनीतिमा इमान्दारीपूर्वक भूमिका निभाएको उनले बताए ।
दुईपटक जिल्ला सभापतिमा पराजित आचार्यले २०७० सालमा टिकट पाएका थिए । एमाले नेता नेम्बाङसँग उनी दुई हजार २ मतले पराजित भएका थिए । २०३३ सालबाट नेविसंघमा क्रियाशील भएका उनी २०४२ सालबाट पार्टी राजनीतिमा आवद्ध लागेका थिए । २०४८ सालदेखि महासमिति सदस्य रहेका उनी पार्टीभित्र संस्थापनइतरमा छन् ।
गत निर्वाचनमा पार्टी सभापति समेत रहेका डम्बर खड्का उक्त क्षेत्रबाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्बाङको निधनका कारणले हुन लागेको उप निर्वाचनका लागि निर्वाचन आयोगले २४ चैतमा उम्मेदवारी दर्ताको समय तोकेको छ ।
उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षीमा आचार्य सहित अघिल्लो निर्वाचनमा पराजित खड्का, नगेन्द्र कुमाल, केशव थापा लगायत छन् ।
इलाम–२ मा जिल्लाका पाँच पालिका छन् । गत स्थानीय निर्वाचनमा कांग्रेसले २ पालिका जितेको छ । क्षेत्रमा पर्ने ४२ वडामा कांग्रेसले २२ वडामा जितेको छ ।अनलाइन खबरबाट
प्रतिक्रिया