९ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण गर्दै

९ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण गर्दै

काठमाडौं/ यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् ।सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए।

तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ छ ।यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ ले अनुमति लिएका छन् ।

यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १ सय ५६ मिटर रहेको छ । त्यस्तै ८ हजार ५ सय १६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र सात हजार ८ सय ६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार ८ हजार २ सय ६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् ।अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५ सय १८ आरोही छन् । सोमा १ सय १४ महिला र ४ सय ४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए ।

सगरमाथा आरोहणको इतिहास

सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ :१५ बजे न्यूजिल्याण्डका नागरिक सरएडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम शुरु भएको पाइन्छ ।

सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७०० ले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा नौको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिकजाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ ।वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन ।

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन ।यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंले बताए।

चार करोड बढी राजश्व सङ्कलन

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म चार करोड २८ लाख ४० हजार १७१ रुपैयाँ ५७ पैसा रोयल्टी प्राप्त जम्मा भएको पर्यटन विभागले जनाएको छ ।सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ ।यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा रु ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने कानूनी व्यवस्था छ ।