मच्छिन्द्रले उचाल्यो माइभ्याली गोल्डकपको उपाधि

मच्छिन्द्रले उचाल्यो माइभ्याली गोल्डकपको उपाधि

मच्छिन्द्र क्लबले छैटौं संस्करणको माईभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई १ शुन्यले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बन्यो । इन्ज्युरी समयको चौथो मिनेटमा बिदेशी खेलाडी आन्द्रेश नियाले डिबक्स नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएपछि मच्छिन्द्रले आयोजकमाथि संघर्षपूर्ण जित निकाल्यो । उपाधि सँगै मच्छिन्द्रले नगद आठलाख रुपैंयाँ पाएको छ भने उपबिजेता आयोजकले नगद पाँचलाख रुपैंयाँ प्राप्त गर्यो ।


खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक बन्यो ।दुवै टिमले गोल गर्ने मौका पाए तर गोल गर्न सकेनन ।
दोस्रो हाफदेखि पानी परेपछि बनेको हिलाम्ये मैदानमा दुवै टिमले खुलेर खेल्न सकेनन् ।
बर्षाको कारण खेलमा प्रत्यक्ष असर देखियो । मैदान हिलाम्मे भएपछि दुबै टिमका खेलाडीले खेल कौशल प्रदर्शन गर्न सकेनन ।


प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका शरन बस्नेत घोषित भए । उनले नगद एकलाख १५ हजार रुपैंयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्सको पुरस्कार आयोजकका क्रमश देव लिम्बू, छिरीङ्ग गुरुङ्ग, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार मच्छिन्द्रका क्रमश योगेश गुरुङ्ग, नीया आन्द्रेश र प्रबेश कटुवाल घोषित भए । पुरस्कृत सबैलाई नगद २५/२५ हजार रुपैंयाँ प्रदान गरीएको थियो ।
बिजेता तथा उपबिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरीङ्ग शेर्पा लगायतले पुरस्कार बितरण गर्नुभयो ।
यसैक्रममा आयोजकलाई चौथो संस्करणसम्म प्रथम पुरस्कार प्रदान गर्दै आउनु भएका इलाम सूर्योदय नगरपालिकाका तारा रोजु सापकोटाबाट आयोजकलाई नगद दशलाख रुपैंयाँ प्रदान गर्नुभएको छ ।यस्तै प्रतियोगितामा आयोजक फाईनलमा पुगेको भन्दै प्रोत्साहित गर्न इलामनगरपालिकाका मेयर महेश बस्नेतले आयोजक टीमलाई एकलाख रुपैंयाँ पुरस्कार दिने घोषणा समेत गर्नुभयो । माईभ्याली फूटबल क्लबले आयोजना गरेको यस प्रतियोगितामा हालसम्म त्रिभुवन आर्मी, थ्रीस्टार क्यामरुनको दाफिन्स फूटबल क्लबले एक/ एक संस्करणको उपाधि जितिसकेको छ भने झापा ११ ले दुईपटक उपाधि उचालिसकेको छ ।

प्रतियोगितामा नेपाल र भारतका दश टिम रहेको थियो । प्रतियोगिताको प्रथम पुस्कारमा ७ लाख रुपैया इलाम नगरपालिकाले उपलब्ध गराएको हो भने अन्य आयोजकले व्यवस्था गरेको हो ।
प्रतियोगिताको समापन कार्यक्रम संविधान सभाका अध्यक्ष , इलामका संघीय सांसद सुवास चन्द्र नेम्वङको प्रमुख आतिथ्यता र माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा सम्पन्न भयो ।