इलाम चैत ५
इलाममा जारी दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिमहरु त्रिभुवन आर्मी , एपिएफ क्लब र गण्डकीले दोस्रो जित निकालेको छ । बिहीबार इलाम सदरमुकामको ठुलो टुडिखेलमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको हो । आर्मीले गौरादह नगर खेलकुद बिकास समिति झापालाई ३–२ को सेटमा पराजित गरेको हो । दोस्रो र तेस्रो सेट गुमाएको आर्मीले पहिलो, चौथो र पाँचौ सेटमा पुनरागमन जित निकालेर प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो । पहिलो सेटमा २५–२० को सेटमा बिजयी बनेको आर्मी दोस्रो र तेस्रो सेटमा लगातार २२–२५ र २३–२५ को सेटमा पराजित बन्न पुग्यो । तर चौथो र पाँचौ सेटमा लगातार गौरदाहमाथि हाबि बन्दै २५–१४ र १५–८ को सेटमा बिजयी बनेको हो । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोड झापालाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । आर्मीसंग पराजित भएसंगै गौरादहको समूह चरणबाटै बाहिरीने संभावना बढेको छ । गौरादहको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी प्रदेशसँग ३–शुन्यको सोझो सेटमा पराजित भएको थियो । आर्मी भने समूह ए बाट २ खेल जित्दै शिर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको दोस्रो खेलमा समूह बी को विभागिय टोली एपिएफ क्लबले पनि दोस्रो जित निकालेको छ । एपिएफले दमक नगर भलिबल क्लबलाई ३– १ को सेटमा हराएर लगातार दोस्रो जित निकालेको हो । दास्रो सेट गुमाएको एपिएफले पहिलो तथा तेस्रो र चौथो सेट जित्दै प्रतियोगितामा आफनो यात्रालाई अघि बढाएको हो । पहिलो सेटमा २५–२१ को सेटमा बिजयी भएपनि दोस्रो सेटमा दमकले २५–२२ को सेट जितेको थियो । तर तेस्रो र चौथो सेटमा एपिएफले क्रमश २५–१२ र २५–१९ को सेटमा जितेको थियो । समूह बि बाट एपिएफ पनि शिर्ष स्थानम उक्लिएको छ । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बिहीबार नै भएको तेस्रो खेलमा बिमान ट्रेडर्स बिर्तामोड झापाले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा आर्मीसंग पराजित बनेको बिमानले डिफेण्डिङ्ग च्याम्पियन गण्डकी प्रदेशलाई ३– शुन्यको सोझो सेटमा हराएको हो । पहिलो सेट २५–२० ले जितेको बिमानले दोस्रो र तेस्रो सेटमा २५–२३, २५–२३ को सेटमा जितेको हो । पहिलो खेलमा गण्डकी प्रदेशले गौरादह भलिबल क्लब झापालाई हराएको थियो । जिल्ला भलिबल संघ इलामले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत ८ गते हुनेछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने जारी प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।