आज टोपी दिवस

टोपी

जनवरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ।

नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि ‘टोपी दिवस’ मनाउन थालेका हुन्।

एउटा अभियानका रूपमा ‘टोपी दिवस’ शुरू भए पनि सामाजिक सञ्जालबाट भएको प्रचारका कारण यसले बिस्तारै दिवसकै रूपमा निरन्तरता पाउन थालेको देखिन्छ। सामाजिक सञ्जाल बाहिर पनि टोपी दिवस मनाउने चलन बढ्दै गएको छ ।

राष्ट्रिय पोशाक संरक्षण महा-अभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महा-अभियान नेपाल लगायतका संघसंस्थाले टोपी दिवसलाई विशेष रूपमा मनाउने गरेका छन् ।